Odapalika - The Fourth Estate - चौथो अंग
बन्दीपुर केबुलकारः पाँचतारे होटलको सुविधा, ५० रुपैयाँ देखि २५ हजारसम्म टिकट

काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर गाउँँपालिका वडा नम्बर ४ मा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण गरेको छ । 

बन्दीपुर केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।  ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

१ वैशाख बाट होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।     बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम पनि अन्तिम चरणमा पुगेको छ । 

पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माको भनाइ छ ।  अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।  

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलकोन गर्दै केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन्  ।  

उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्न, ६ वटा रेष्ट्रो क्याबिन र २ वटा एड्भेन्चर गरी २९ डिब्बा छन् । एक डिब्बामा ८ जनासम्म बोक्नसक्ने क्षमता छ ।

केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । न्यूनतम ५० देखि  २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।

पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई ५० रुपैयाँ, पत्रकारलाई ३५० र अन्य यात्रुका लागि  ५०० देखि २५ हजार रुपैयाँ सम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।    
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update