Odapalika - The Fourth Estate - चौथो अंग
ट्होटेँ पर्व मनाउन स्थानीय तहमा सार्वजनिक बिदा  

काठमाडौँ । तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँ मनाउन कास्कीका ३ वटा स्थानीय तहले आज (मंगलबार) सार्वजनिक बिदा दिएका छन् । 

मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर बिदा दिने घोषणा गरेका हुन् । 

सूचनामा गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने उल्लेख छ । 

 गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार ट्होटेँ पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । 

गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत लगायतका जिल्लामा बस्ने गुरुङ जातिले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटेँ मनाउने गर्छन् ।यसैबीच, तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update