Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’, अरु के गर्दैछ बागलुङ नगरपालिका ?

काठमाडौँ । बागलुङ नगरपालिकाले छाडा कुकुरको व्यवस्थापन गर्ने भएको छ । नगरभित्र वेवारिसे कुकुरको संख्या बढ्न थालेपछि नगरपालिकाले संरक्षण गर्न कुकुर होस्टेल बनाउने तयारी थालेको हो । 

प्रदेश सरकारबाट अनुमति पाएसँगै कुकुर होस्टेल निर्माणको काम सुरु भएको नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

उनले ७५३ वटा स्थानीय तहमध्ये कुकर होस्टेल स्थापना गर्ने बागलुङ नगरपालिका नै पहिलो हो । उनका अनुसार हाल नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण तथा औषधी उपचारको काम गर्दै आएको छ । 

‘गत आर्थिक वर्ष २०० भन्दा बढी छाडा कुकुरको भ्याक्सीन र बन्ध्याकरणको काम गरेका छौँ । छाडा कुकुरको संख्या दिनानुदिन बढ्दो क्रममा छ, भ्याक्सिनले मात्र व्यवस्थापन गर्न नसक्ने भएपछि हामीले वेवारिसे कुकुरलाई संरक्षण गरेर राख्ने तयारी गरेका हौँ’, उनले भने । 

पछिल्लो समय बागलुङ नगरपालिकाभित्र मर्निङ वाकमा निस्कने बृद्ध बृद्धा तथा बालबालिकालाई छाडा कुकुरले टोक्ने क्रम बढ्दो क्रममा छ । चालू आर्थिक वर्षमात्रै कुकुरले टोक्दा २ जनाको मृत्यु समेत भएको छ ।

श्रेष्ठका अनुसार ५०० वेवारिसे कुकुर अट्ने गरी भौतिक संरचना निर्माणको थालनी सुरु भएको छ । उक्त होस्टेलमा पालिकाभित्र रहेका वेवारिसे कुकरलाई लगेर राखिनेछ । त्यहा राखिएका कुकुरको खानादेखि औषधि उपचारको सम्पूर्ण व्यवस्था पालिकाले नै गर्नेछ । 

पालिका बाहिरका व्यवसायीको तथ्यांक संकलन 

नगरपालिकाले चालू आर्थिक वर्षदेखि बाहिरबाट आएर उद्यम व्यवसाय गर्ने व्यवसायीहरुले तथ्यांक संकलन सुरु गरेको छ । नगरप्रमुख श्रेष्ठले चालू आर्थिक वर्षबाट बाहिरका व्यवसायीहरुको तथ्यांक संलकन गरिएको बताए । 

‘हाम्रो पालिकामा बाहिरबाट आएर उद्यम व्यवसाय गर्नेहरुको हामीसँग कुनै तथ्यांक नै थिएन । सुरक्षा लगायतको दृष्टिकोणले हामीले बाहिरी जिल्ला तथा भारतबाट आएर यहाँ व्यवसाय गर्नेहरुको तथ्यांक सुरु गरेका हौँ, उहाँहरुले पालिकालाई वार्षिक १ हजार रुपैयाँ तिर्नुपर्ने नियम बनाएका छौँ’, उनले भने । 

उनले बाहिरका व्यवसायीहरुको सुरक्षा लगायत सम्पूर्ण व्यवस्था पालिकाले गर्ने भएपछि उनीहरुलाई जिम्मेवारी बोध गराउन उक्त शुल्क लिने गरिएको बताए । 

सबै वडामा पक्की सडक 

पालिकाले चालू आर्थिक वर्षभित्र सबै वडामा पक्की सडक पुर्याउने गरी भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको प्रमुख श्रेष्ठ बताउँछन् । उनले आगामी आर्थिक वर्षबाट सबै वडामा नगर बस सञ्चालन गर्ने तयारी भएको भन्दै पक्की सडक निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

‘हाम्रो १४ वटै वडामध्ये अहिले केही वडामा पक्की सडक पुगेको छैन्, आगामी आर्थिक वर्षदेखि वडामा नगरबस सञ्चालन गर्ने हाम्रो योजना छ । सोही योजना अनुसार सडक निर्माणलाई हामीले पहिलो प्राथमिकता राखेका हौँ । अहिले पक्की सडक नपुगेका केही वडामा निर्माणको काम सुरु भइसकेको छ भने केहीमा ठेक्का सम्झौता भैसकेको छ’, उनले भने ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update