Odapalika - The Fourth Estate - चौथो अंग
मकवानपुरको भोर्लेनीमा बेपत्ता २ जनाको शव भेटियो, पहिचान बाँकी (अपडेट)

मकवानपुर । मकवानपुरको बाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ज्यान जानेको संख्या ३ पुगको छ । 

बेपत्तामध्ये १ जनाको उद्धारपछि तत्काल निधन भएकामा थप २ जनाको शव भेटिएको बाग्मती गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत झम्कनारायण घलानले वडापालिकालाई जानकारी दिए । 

मृतकको पहिचान खुल्न नसकेको र विस्तृत विवरण अझै आउन नसकेको उनले जानकारी दिए । जनप्रतिनिधिसमेतको टोली घटनास्थलतर्फ प्रस्थान गरेपछि खोलामा आएको वाढीका कारण तर्न समस्या भइरहेको उनको भनाइ छ । 

गत राति पहिरोले घर बगाउँदा एकै घरका सुतिरहेकालाई बगाएको हो । पहिरोले भोर्लेनीका धारापानी स्याङ्तानको घर बगाउँदा स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिकासहित ६ जना बेपत्ता भएको उनको भनाइ छ । 

निरन्तरको वर्षका कारण गाउँमा बिजुली छैन । विजुली अभावमा टेलिफोनको नेटवर्कले समेत राम्ररी काम नगरेका कारण थप क्षतिवारे अपडेट लिन समस्या भएको उनको भनाइ छ । 

पालिकाको लम्बना भन्ने स्थानमा वाढीले एउटा घर बगाउने अवस्थामा पुगेपछि पालिकाको पहलमा डोजर लगाएर पानी कटाएर घर जोगाउन भने सफल भएको उनको भनाइ छ । अहिलेपनि पानी परिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update