Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले मंगलबार कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा सहित ८ जनाउपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

उनीहरु माथि पलाँता गाउँपालिका वडा नम्बर ८ स्थित मुलखोला थोपा सिंचाई आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई कार्य गर्दा योजनाको लागत अनुमान बमाजिम कार्य नभएको, स्थलगत गई नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको आरोप लागेको छ । 

आयोगले गाउँपालिकाका सव इन्जिनियर माधव कुमार भट्ट, वडा नम्बर ८ का तत्कालीन वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकाय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले उनीहरु विरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ माग दाबी गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update