Odapalika - The Fourth Estate - चौथो अंग
सिंचाइ आयोजनामा १३ लाख भ्रष्टाचार,  उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाबिरुद्ध मुद्दा 

काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिका वडा नं ८ मा संचालित थोपा सिँचाई आयोजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासहित उपभोक्ता समितिले आर्थिक वर्ष २०७४/०७५ को रकम खर्च गरी कुनै पनि काम नगरेको भन्दै पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासहित ८ जना विरुद्ध मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । 

पलाँता गाउँपालिका वडा नम्बर ८  स्थित मुलखोला थोपा सिंचाई आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई कार्य गर्दा उक्त योजनाको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताव तयार गरेर १३ लाख रुपेयाँ भन्दा वढी भ्रष्टाचार भएको अख्तियारको दाबी छ । 

सो प्रकरणमा अधिकृत कुस्मा र इन्जिनियर माधव कुमार भट्टले भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर गरेको भन्दै  १३ लाख ७४ हजार ९९१ रुपैया ८३ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्टाचार गरेको रकम बराबरको जरिमाना, त्यतिनै बराबरको बिगो र कैद सजाय माग गरेको छ । 

पलाँता गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने, वडा नं ८ का तत्कालीन वडाअध्यक्ष पटक बहादुर बम र वडा सचिव जानकी कुमारी शाहीले मुलखोला थोपा सिंचाई आयोजनामा उपभोक्ता समितिमार्फत भएको सम्पूर्ण कार्यको इस्टिमेट अनुसारको काम भएको भनी अनुगमन सुपरीबेक्षण प्रतिवेदन बनाएर वास्ताविक भन्दा  १३ लाख ७४ हजार रुपैयाँ भन्दा वढी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुलाई पनि जरिमाना, बिगो र कैद सजाय माग गरिएको छ । 

त्यसैगरी, मुलखोला थोपा सिंचाई उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायबिरुद्ध पनि सोही रकम बराबरको जरिमाना, बिगो र कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update