Odapalika - The Fourth Estate - चौथो अंग
कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरु विरुद्ध जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको आरोप लगाउँदै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निमित्त प्रमुख पोखरेलले कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाण–पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर अनियमितता गरेको उजुरी परेको थियो । 

आयोगले पोखरेलसहित कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका कृषि इन्जिनियर विश्रनाथ पौडेल, कार्यालयका तत्कालीन कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, वडा नम्बर ३ का महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठ विरुद्द मुद्धा दायर गरेको छ । 

उनीहरु विरुद्ध २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी गरेर सम्झौता विपरीतका काम गरेको र सरकारी सम्पत्ति हानि–नोक्सानी हुने कार्य गरेकाले सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update