Odapalika - The Fourth Estate - चौथो अंग
२ बैशाखदेखि मर्स्याङदी नदीमा मोटरबोट, आँबुखैरेनीको खातामा ११ प्रतिशत  

काठमाडौँ । नयाँ वर्षदेखि मर्स्याङदी नदी (ड्यामसाइड)मा मोटरबोट सञ्चालनमा आउने भएको छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आयोजनामा २ बैशाखमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त मोटरबोटको उद्घाटन गर्नेछन् । 

आँबुखैरेनी गाउँपालिकाले मस्र्याङदी नदीमा मोटरबोट सञ्चालनको जिम्मा बोटेवोरा काठमाडौँलाई दिएको छ । पालिकाले मोटरबोट सञ्चालनका लागि सार्वजनिक सूचना जारी गरेको थियो । 

सूचना अनुसार पालिकाले उक्त कम्पनीलाई मोटरबोट सञ्चालनको जिम्मा दिएको थियो । सुरुवाती चरणमा २ वटा मोटरबोटबाट सेवा सञ्चालनको तयारी भएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार १० सिट र २० सिट क्षमताको मोटरबोटले बैशाख २ गतेदेखि आगामी जेठ मसान्तसम्म सेवा दिनेछ । ‘हामीले औपचारिक उद्घाटन गरेपछि जेठ मसान्तसम्मका लागि मात्र मोटरबोट सञ्चालनका लागि अनुमति दिएका छौँ । बर्खाको समयमा मोटरबोट बन्द रहन्छ । आगामी कात्तिकदेखि पुनः जेठ मसान्तसम्म सेवा सुचारु गर्ने गरी अनुमति दिएका हौँ’, उनले भने । 

उनका अनुसार पालिकाले २५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकेको छ । १ हजार शुल्क भने लग्जरीएस् मोटरबोटका लागि हो । ‘मोटरबोट सञ्चालन भएपछि प्रति टिकटको ११ प्रतिशत रकम पालिकाले लिनेछ । 

वातावरणीय मूल्यांकन र अनुमतिका लागि ५/५ प्रतिशत र १ प्रतिशत अन्य सेवा गरी एउटा टिकट बराबर ११ प्रतिशत रकम पालिकालाई आउँछ’, उनले भने । तत्कालका लागि भने २५० रुपैयाँ शुल्क निर्धारण भएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update