Odapalika - The Fourth Estate - चौथो अंग
नैनीतालमा दुर्घटना : एकै वडाको ६ जनाको मृत्यु,  टिटिहिरिया गाउँ शोकाकुल

काठमाडौँ । भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका छजनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छजनाको  मृत्यु भएको थियो । 

एकै वडाको ६ जनाको दुर्घटनामा परी मृृत्यु भएपछि वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताए ।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको मृत्यु भएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं ८ टिटिहिरियाको फत्तेपुरगाउँ निवासी उदयराम थारू, धीरज थारू र विश्राम थारू, रिहारपुर गाउँ निवासीे तीलकराम थारू र थपुवागाउँ निवासी अन्तराम थारू र विनोद थारूको मृत्यु भएको छ । थपुवा गाउँकै दशरथ थारू र फत्तेपुर निवासी शान्ति थारू घाइते छिन् ।

‘नयाँ वर्षको मुखैमा भएको अकल्पनीय दुर्घटनाले हाम्रो वडा शोकमा छ’, उनले भने, ‘भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेका छौँ ।’
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update