Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी

ललितपुर । ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ । 

महानगरले यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रमसँग सहकार्य गरी १५ जना नगर प्रहरीलाई तालिम दिन लागेको हो ।

बिहीबारबाट सुरु भएको तीन दिने तालिममा नगर प्रहरीहरूले वातावरण कसरी स्वच्छ राख्ने, सफा राख्ने, बोटबिरुवाको संरक्षण गर्ने सम्बन्धमा विज्ञबाट ज्ञान लिने छन् । 

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले वायु प्रदूषण न्यूनीकरणका लागि अनेक उपाय र प्रयास गर्न महानगर तयार रहेको बताए । उनले भने, ‘मेरो पहिलो कार्यकालमा ललितपुर महानगरभित्र धेरै वृक्षारोपण गरिएको थियो, ती विरुवा कोभिडको बेलामा हलक्कै बढे, त्यतिबेला कोभिडको डरले मान्छे पनि घरभित्रै भए, वायु प्रदुषण पनि भए । कोभिडले संसारलाई आतंकित बनाए पनि विरुवा हुर्कन यो समय वरदान भयो ।’

महर्जनले पछिल्लो पटक बसेको नगरसभाको बैठकमा बातावरण नगर प्रहरी राख्ने निर्णय अनुरूप नै अहिले तालिम दिन लागिएको बताए । नगर प्रमुख महर्जनले वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर सम्भवत पहिलो स्थानीय तह हो । 

उनले वातावरण प्रहरीको टोलीलाई आवश्यक भौतिक पूर्वाधारका लागि बजेटको व्यस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने आफ्नो अभियान जारी राख्ने बताए । 

कार्यक्रममा स्वच्छ हावा कार्यक्रममा प्रमुख एवं वातावरण विज्ञ भूषण तुलाधरले वातावरण प्रहरीको व्यवस्था गरेर ललितपुर महानगरले उदाहरणीय काम गरेको बताए । वातावरणको रक्षा गर्दा आइपर्ने खतराका बारेमा समेत उनले औंल्याए ।  

उनले  महानगरको वातावरणसम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने र नागरिकको सुरक्षा वातावरण प्रहरीको मुख्य काम भएको बताए । उनले उपत्यकाको वायु प्रदूषणबाट पीडित सडकमा ड्यूटी गर्ने प्रहरी नै रहेको बताए ।

महानगरकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यले स्वच्छ हावा बनाउनु प्रत्येक नागरिकको कर्तव्य भएको भन्दै  अभियान सञ्चालनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘वातावरण विज्ञहरूले नै भनेअनुसार काठमाडौँ उपत्यकाको वायु स्वासप्रश्वासका लागि अयोग्य रहेछ, यस्तो अवस्थामा वातावरण सफा र स्वच्छ राख्नु सबैको कर्तव्य हुनेछ ।’ 

ललितपुर महानगरले स्वच्छ हावा र वातावरण पर्यावरणीय कार्य अन्तर्गत विभिन्न स्थानमा ४० वटा पार्क बनाइसकेको छ । अब ४५ रोपनी जग्गामा पोखरीसहितको ठुलो पार्क बनाउने तयारी योजना महानगरको छ । 

कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, महानगर प्रहरी प्रमुख सिताराम हाछेथु लगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update