Odapalika - The Fourth Estate - चौथो अंग
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’ 

काठमाडौँ । इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय स्थल श्रीअन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ । 

सूर्योदय नगरपालिकाको आयोजनामा वडा नम्बर ४ मा पर्ने श्रीअन्तुमा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।  

महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।

‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा ८ जना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । 

महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए ।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटल र कटेजमा गरी ५ हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।

अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योेदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने छन् 

स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति अवलोकन गर्न पाइनेछ । 

सामान्यतया असोज पहिलो सातादेखि मङ्सिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि श्रीअन्तु पुग्ने गरेका छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update