Odapalika - The Fourth Estate - चौथो अंग
‘पी. वीर १ लम्बर अस्पताल’को चलाखी, निःशुल्क खोपमा यसरी लिन्छ शुल्क

काठमाडौँ । सरकारी स्वामित्वको एक अस्पतालले निःशुल्क खोपमा शुल्क लिने गरेको पाइएको छ । सरकारले निःशुल्क उपलब्ध गराएको खोपलाई अस्पतालले अनौठो चलाखी गरेर सशुल्क बनाइदिएको हो ।

यसरी शुल्क लिने गरेको अस्पताल नेपालको सबैभन्दा पुरानो भनिएको ‘पी. वीर १ लम्बर’ अस्पताल हो । सरकारी स्वामित्वको यो अस्पताल अहिले कोशी अस्पतालका नामले चिनिन्छ । र, यो अस्पताल विराटनगरमा छ ।

बच्चालाई दिने निःशुल्क खोपमा पनि अस्पतालले ५० रुपैयाँ शुल्क लिने गरेको विराटनगरबासीको गुनासो छ । सरकारले निःशुल्क भनेको खोप लगाउन ओपिडीको टिकट किन्नुपर्ने र त्यसको लागि शुल्क तिर्नु परेको हो ।

‘सरकारले बच्चाको लागि भनेर निःशुल्क खोप उपलब्ध गराएको भनिएको छ तर हामीले ओपिडी टिकट नकिनी खोप लगाउन पाउँदैनौं । ओपिडी टिकट लिनको लागि लाइनमा बस्नुपर्छ, प्रत्येक पटक आउँदा ५० रुपैयाँ शुल्क तिर्नुपर्छ,’ विराटनगरका एक स्थानीयले वडापालिकासँग भने ।

अस्पतालका कर्मचारीहरुले पनि निःशुल्क खोप लगाउनको लागि ओपिडी टिकट लिनुपर्ने पुष्टी गरे ।

‘खोपको पैसा लाग्दैन । सरकारले नै निःशुल्क भनेपछि पैसा लाग्ने कुरा पनि भएन । तर, पत्येक पटक खोप लगाउनको लागि ओपिडी टिकट लिनुपर्छ, त्यसको शुल्क ५० रुपैयाँ हो,’ अस्पतालका एक कर्मचारीले भने ।

कोशी अस्पतालका मेसु चन्द्र झाले बच्चाको विस्तृत विवरण लिने प्रयोजनका लागि ओपिडी टिकट लिन थालिएको बताए । यद्यपि, आफू सो अस्पताल भर्खरै मात्र गएकोले धेरै कुरा जानकारी नपाएको उनको भनाइ छ ।

‘म यहाँ आएको धेरै भएको छैन, भर्खरै आएको हूँ, पहिला खोप लगाउँदा एक जना बच्चाको मृत्यू भएको रहेछ । अनि ओपिडी टिकट काट्ने गरिएको रहेछ । ओपिडी टिकट काट्दा धेरै विषयको सुचना हुने भएकोले यस्तो गरिएको रहेछ,’ झाले भने ।

कोशी अस्पताल राणा श्री ३ वीर शमशेरको पालामा खुलेको अस्पताल हो । सो अस्पताल विस १९४७ सालमा खुलेको र सो अस्पतालको नाम ‘पी. वीर अस्पताल राखिएको थियो । सोही अस्पताल अहिले कोशी अस्पतालको नामले चिनिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update