Odapalika - The Fourth Estate - चौथो अंग
प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको दोहन 

महोत्तरी । स्थानीय प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको चरम दोहन भएको पाइएको छ ।

नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हँुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । 

‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्खनन् भइरहेको छ । तर नगरपालिका र वडालाई खवर गर्दा कसैले पनि चासो देखाएका छैनन्,’ स्थानीय हिरालाल महतोले भने, ‘नदी सखाप नै बनाएर वातावरणमा नै प्रतिकुल असर पर्ने गरी तस्करहरु लागिपरेका छन् ।’

स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उद्योग छन् । त्यसमध्ये ९ वटा संचालनरत छन् । क्रसरहरुले नै रातिराति अवैध उत्खनन् गर्ने गरेको र केही ट्याक्टर धनीसमेत उत्खननमा सहभागी हुने गरेको स्थानीयको दाबी छ । 

नगर क्षेत्रमा अवैध उत्खनन भइरहेको वडा नं ४ का वडा अध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन् । ‘कयौँ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौँ तर उनीहरु टेर्ने अवस्थामा छैनन्,’ अध्यक्ष महतोले भने, ‘कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन् त्यो अत्यन्त दुःखद छ ।’

बान्द्रा र प्रेमनगरबीचमा पर्ने जंगल क्षेत्रमा निक्कै भयावह ढंगले दोहन भएको उनको भनाइ छ । जंगल क्षेत्रमा दोहन भएपछि जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको बताउँदै अध्यक्ष महतोले सरोकारवालाहरु मौन बसेको शंका उत्पन्न भएको बताए । 

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले दोहनको विषयमा आफुहरु जानकार रहेको भन्दै स्थलगत अनुगमन समेत गरिसकेको बताएका छन् ।

प्रमुख झाका अनुसार अनुगमनपछि पनि स्थानीय क्षेत्रवाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर कारवाहीको प्रारम्भिक प्रक्रिया अघि  अघि वढाइसकेको जानकारी दिए । 

‘अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजी जग्गावाट माटो उत्खनन गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया विना उत्खनन् गर्न नमिल्ने भनेर सचेत गराइसकेका छौँ । अटेर गरे कारवाही हुन्छ,’ प्रमुख झाले भने ।

नगर क्षेत्रमा भइरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण भएको जनाएको छ । कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जो कोही कानुनको भागीदार हुनुपर्ने बताउँदै समन्वय समितिका सभापति सुमनलाल कर्णले भने, ‘वन तथा नदी क्षेत्रमा भइरहेको दोहनको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रशासनकै भूमिकामा शंका 

स्थानीयले प्रशासनको भुमिकामाथि पनि गम्भीर प्रश्न उठाइरहेका छन् । नजिकमा रहेका प्रहरीहरुलाई खवर गर्दा उल्टै टिपर तथा उत्खनन्स्थलवाट भगाउने गरेको स्थानीयको आरोप छ । 

स्थानीय प्रभु महतोले प्रहरीलाई पटक पटक खबर गर्दा पनि मौन रहेको वताए । ‘मैले पनि धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन्,’ उनी भन्छन् । 

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको बताए । ‘हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेर जिल्ला समन्वय समितिलाई जानकारी गराएका छौँ,’ उनले भने । 

स्थानीय राजीव साहका अनुसार प्रहरी प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि वेवास्ता गरेको कारण तस्करहरुको आत्मवल झन बढ्दै गएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update