Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ वर्षमा यतीले २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान गर्ने

काठमाडौँ । नीजि क्षेत्रको लगानीमा सञ्चालीत यती एयरलाइन्सले नयाँ वर्ष २०८१ को योजना सार्वजनिक गरेको छ ।  नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कम्पनीले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको हो । 

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो । 

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एयरलाइन्सले जनाएको छ । 

हाल एयरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् । सेवाशुल्क लिदै आएकोमा कम्पनीले सिमित अवधिका लागि निःशुल्कको घोषणा गरेको हो । 

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि बैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ  । 

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एयरलाइन्सको चेक—इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ । 

हाल यती एयरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरुलाई सेवा दिंदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update