Odapalika - The Fourth Estate - चौथो अंग
त्रिवि सेवा आयोग अध्यक्ष बन्न निवेदन मागियो, उपकुलपतिको पनि कार्यकाल सकिदै 

काठमाडौँ । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । 

उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई २६ साउनमा व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।

आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल १८ साउन, २०७९ मा सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित  छन्न् । उक्त पदका लागि गत २८ भदौमै सूचना प्रकाशन भई ‘सर्टलिष्ट’ तयार गरिए पनि प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो ।

उपकुलपतिको कार्यकाल पनि अब ३ महिना मात्र बाँकी छ । त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । 

वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी १६ कात्तिकमा सकिँदै छ ।

उपकुलपति बाँस्कोटाले ३ महिना कार्यकाल बाँकी रहँदा यही १६ साउनमा प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्वतयारीका साथ व्यक्तिको छनोट गर्न ध्यानाकर्षण गराइसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update