Odapalika - The Fourth Estate - चौथो अंग
गगन थापाले बहिष्कार गरेको उद्घाटन कार्यक्रममा केपी ओलीले १ हजार तिरेपछि...

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नयाँ वर्षको दिनबाट नगरबाट स्वास्थ्य सेवा दिन थालेको छ ।शनिवार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको उद्घाटन गरेका छन् । 

पालिकाको वडा नम्बर १० मा रहेको अस्पताल उद्घाटन गर्न सरकारमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेसका जनप्रतनिधिले भने अस्पताल उद्घाटन बहिष्कार गरे । 

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाललाई अतिथिका रुपमा नभएर सहभागीका रुपमा मात्र कार्यक्रममा बोलाइएको भन्दै थापा र कांग्रेस नगर समितिले कार्यक्रम बहिष्कार गरेको हो । 

नगरपालिकाका अनुसार ओलीले एक हजार रुपैया तिरेर स्वास्थ्य परीक्षण गराएका छन् । अस्पतालका अनुसार ओलीले आफ्नो स्वास्थ्यको  सामान्य परीक्षण गराए । 

बुढानीलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको नगर अस्पताल उद्घाटन भएसँगै नगरमा स्वास्थ्य बिमा कार्यक्रम पनि सुरु गरिएको नगर प्रवक्ता नवराज भट्टराईले बताए ।

उद्घाटनका क्रममा ओलीले नयाँ वर्षको उत्साहका साथ नगर अस्पताल आफ्नै गाउँठाउँमा खुलेपछि नगरवासीहरुलाई यहीबाट सेवा लिन अनुरोध गरे ।

स्वास्थ्य बीमा नागरिकलाई नगरले सहज सरल रुपमा प्रदान गर्न अनुरोध गरेका थिए । उनले अस्पतालमा आउने बिरामी उपचार मात्र हैन रोग नियन्त्रणका विभिन्न स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम गर्न नगरलाई सुझाव दिए । 

उनले भने, ‘खानपिन र विभिन्न खालका प्रदुषणबाट धेरै रोगहरु लाग्ने गरेका छन् । नेपालमा स्वास्थ्यको अवस्था सुध्रिएको छ । कोभिडले हामी नेपालीका आँखा खोलेको छ । अब हामी पहिला भन्दा आफ्नो ख्याल राख्न थालेका छौं । खानपीनमा हामीले अझै धेरै ध्यान दिन आवश्यक छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा ३९६ वटा अस्पताल एकै ठाउँबाट सुरु गरिएको स्मरण गर्दै विभिन्न स्थानीय तहमा यस्तै खालका सेवा सुविधाहरु हरेक पालिकामा सहज रुपमा उपचार होस् भनेर सुरु गरेको बताए ।

नगर प्रमुख मिठाराम अधिकारीले नगरले बजेट निर्माण गर्दा शिक्षा र स्वास्थ्यमा प्रथामिकता दिएको जनाए । उनले नगर अस्पतालमा न्युन शुस्ल्कमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।

नगर उपप्रमुख अनिता लामाले नगरको गौरवको आयोजना नगर अस्पताल आजबाट उत्साहका साथ उद्घाटन गरेको बताइन् । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । हामीले आजबाट यहाँहरु समक्ष ओपीडी सेवा सुभारम्भ गरेका छौँ । उनले आगामी दिनमा १४ वेडमा विरामी भर्ना गरेर उपचार गर्न सकिने गरी अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update