Odapalika - The Fourth Estate - चौथो अंग
महाङ्काल दूधमा कर लगाउने, राप्तीले भने रगत पनि निःशुल्क दिने 

काठमाडौँ । किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर २० पैसा कर लगाएर ललितपुरको महांकाल गाउँपालिका आलोचित बनिरहेका बेला चितवनको एउटा पालिकाले भने आफ्ना नागरिकलाई निःशुल्क रगत दिने भएको छ । 

चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ । राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच यससम्बन्धी सम्झौता भइसकेको छ ।

नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ ।

सम्झौतामा सेवा लिने व्यक्तिले स्थायी बसोबास भएको नेपाल सरकारको मतदाता परिचयपत्र, नागरिकता वा नगरपालिका तथा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने छ । 

नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने कर्मचारी परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने, आपतकालीन अवस्थामा रगत लिनुपर्ने भई अन्य कागजात पेस गर्न नसकेको अवस्थामा बिलका आधारमा सोझै नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौतामा उल्लेख छ । 

करार अवधि ४ वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने गरी २ किायबीच सहमति भएको हो ।  सहमति र सहकार्यको आधारमा करार अवधि थपघट गर्न सक्ने सम्झौतापत्रमा उल्लेख छ । 

यो सम्झौता अनुसार १ भदौबाट सुविधा उपलव्ध हुनेछ । भदौसम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख लामा र रेडक्रस सोसाइटीको तर्फबाट रेडक्रसका जिल्ला सभापति हरिप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । अहिले १ पाउन्ड रगत बराबर ८ सय ५० रुपैयाा तिर्नुपर्छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update