Odapalika - The Fourth Estate - चौथो अंग
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर 

काठमाडौँ । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ । 

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ ।  महानगरले २४ वटा शीर्षकमा  राजस्व सङ्कलन गर्दै आएको छ । 

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा दुई करोड ९५ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको बताए । 

‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व सङ्कलनमा सुधार देखिएको छ’, उनले भने । गत आवको नौ महिनामा वीरगन्ज महानगरले ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८÷७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९०रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । 

‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ’, उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’

महानगरले चालु आव २०८०÷८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो ।

महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update