Odapalika - The Fourth Estate - चौथो अंग
गोरखा नपाले कक्षा १ का विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने, अरु के के छन् सुविधा ? 

काठमाडौँ । गोरखा नगरपालिकाले कक्षा १ मा भर्ना हुने सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ । विद्यार्थी भर्ना अभियान चलिरहेको बेला गोरखा नगरपालिकाले  सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन उक्त सुविधाको घोषणा गरेको हो ।

सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना भएका विद्यार्थीको भर्ना हुने वित्तिकै स्वास्थ्य बीमा बोर्डको नियमअनुसार विद्यार्थी र उसको अभिभावकको (५ जना सम्मको) समेत निःशुल्क स्वास्थ्य बीमा हुने नगरपालिकाले जानकारी दिएको छ ।

नगरप्रमुख कृष्णबहादुर राना पालिकाभित्र रहेका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम ल्याएको बताउँछन् । उनले निःशुल्क स्वास्थ्य बीमासँगै नयाँ शैक्षिक सत्रदेखि सबै विद्यालयलाई ड्रेस कोड (एउटै पोसाक) लगाउनुपर्ने नियम बनाइएको जानकारी दिए ।

‘हाम्रो पालिकाभित्र रहेका ४८ वटा सामुदायिक विद्यालयमा भिन्दाभिन्दै पोसाक थियो । तर, हामीले नयाँ शैक्षिक सत्रदेखि सबै सबै विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम बनाएका छाँै । सेतो र आकाशे रंगको सर्ट, निलो पाइन्ट तथा फर्कलाई अनिवार्य बनाएका छौँ । केही विद्यालयमा टाइ लगाउने चलन थियो, त्यसलाई हटाइदियौँ,’ नगरप्रमुख रानाले वडापालिकासँग भने ।

५ कक्षासम्म निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना

नगरपालिकाले सुरुवाती चरणमा कक्षा १ मा भर्ना हुने विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिए पनि त्यसलाई विस्तार गर्ने योजना रहेको जनाएको छ । 

नगरप्रमुख रानाले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी र उसको परिवारको नगरपालिकाले नै निःशुल्क बीमा गरिदिने तयारी भएको बताए । 

‘अहिले हामीले सुरुवाती चरणमा १ कक्षालाई मात्र फोकस गरेका छाैँ । विस्तारै अन्य कक्षामा भर्ना हुने विद्यार्थीसँगै परिवारको समेत बीमा गर्ने हाम्रो योजना हो । यो कार्यक्रमलाई हामीले निरन्तरता दिन्छौँ’, उनले भने । 

उक्त कार्यक्रमका लागि यसवर्ष नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित रकमबाट अपुग भए रकम थप गरिने उनको भनाइ छ । 

‘हामीले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, गर्दै जादा रकम अपुग भयो भने थप गर्न हामी तयार छाँै । यो कार्यक्रमबाट नगरपालिकाले आर्थिक भार बढ्छ । तर हामीले पालिकाभित्र रहेका जनताको सेवालाई पहिलो प्राथमिकता राखेका छौँ,’ नगरप्रमुख रानाले थपे ।

शिक्षक र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

गोरखा नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक र सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ । 

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अधिकांश स्थानीय तहले उक्त निर्णय कार्यान्वयनमा ल्याएका छन् । सोही अनुसार गोरखा नगरपालिकाले समेत उक्त अभियान कार्यान्वयनमा ल्याएको हो । 

नगरप्रमुख रानाले विद्यार्थी भर्ना अभियान सुरु भएको भन्दै शिक्षक र सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना नगरे कारवाही हुने बताए । 

विद्यालयलाई बस हस्तान्तरण

गोरखा नगरपालिकाले विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयलाई बस दिने योजनासमेत बनाएको छ । विद्यालय जान पायक नपर्ने विद्यार्थीलाई लक्षित गर्दै पालिकाले विद्यार्थीको संख्या बढी भएको विद्यालयलाई बस उपलब्ध गराउने योजना बनाएको हो । 

उक्त योजना अनुसार नगरपालिकाले हालसम्म २ वटा सामुदायिक विद्यायललाई बस वितरण गरिसकेको छ । नगरपालिकाको आफ्नै स्रोतमा किनिएको नभएर दाताहरुले दिएको बस सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराइएको नगरप्रमुख रानाले बताए । 

उनले गत आर्थिक वर्ष एउटा सामुदायिक विद्यालयलाई र हालै मात्र भारतीय राजदुतावासको सहयोगमा पाइएको अर्काे बस अर्काे सामुदायिक विद्यालयलाई दिइएको जानकारी दिए ।

नगरप्रमुख रानाले आगामी आर्थिक वर्षमा दाताबाट सहयोग नआएपनि केही सामुदायिक विद्यालयमा नगरपालिका आफैले खरिद गरेर भएपनि बस योजना बनाइएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update