Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर

काठमाडौँ । पोखरा महानगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ । 

महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म संस्कार शिक्षा लागू गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगर बाहेक अन्य केही स्थानीय तहहरुले लागू गर्ने तयारी गरिरहेका छन् ।

महानगरले यही सालको शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि तयारी गरिरहेको महानगरपालिकाको शैक्षिक प्रशासुन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । पहिलो चरणमा कक्षा ६ देखि ८ सम्म संस्कार शिक्षा लागू गर्न लागिएको छ ।

‘कक्षा ६ देखि १० सम्म संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको छ । यसै वर्षको शैक्षिक सत्रदेखि कक्षा ६,७ र ८ मा संस्कार शिक्षा लागू गर्न सकिने देखिएको छ,’ महाशाखा प्रमुख आचार्यले वडापालिकासँग भने ।

यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र डा. केएन स्वामीबीच छलफल पनि भएको छ । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।

पोखरा महानगरभित्र कक्षा ६ देखि माथि पढाउने सामुदायिक विद्यालयहरु २०३ वटा छन् । यी विद्यालयमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update