Odapalika - The Fourth Estate - चौथो अंग
बोल्न नपाएको विषयलाई उपसभामुखले दिइन् जातीय रङ

काठमाडौँ । प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले आफुलाई बोल्न नदिएको गुनासो गरेकी छन् । 

बुधबार काठमाडौंमा २९औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप –चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन् । उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न पनि गरिन् । 

‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कतिजना महिलाहरुले बोल्नुहुन्छ ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले ? कि म मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ,’ उनले भनिन्

उप–सभामुखरानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो कि भनेर संशय प्रकट गरिन् । साथै उनले महिलाको आदर नभएको गुनासो मात्रै गरिनन् देशमा सुशासनभन्दा कुशासन बढी भएको दाबी पनि गरिन् । 

उनले भनिन्, ‘शुसासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो म ? जो महिला एउटा बच्चा जन्माएर त्यसलाई असल नागरिक बनाउन सक्षम श्रृजना गर्छिन त्यो महिलाको यहाँ आदर हुँदैन भने यहाँ कहाँ लोकतन्त्र छ ?’, उनले कृषि क्षेत्रमा युवाहरुलाई समेट्न नसकेकै कारण युवा पलायन बढेको पनि धारणा राखिन् । 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update