Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाका ५ पालिका एकै ठाउँ, सार्वजनिक पदमा बस्नेका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

काठमडौँ । गोरखा जिल्लाका ५ वटा स्थानीय तहले आफ्नो पालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले  आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेका छन् ।

सामुदायिक विद्यालयको गुणस्तर बढाउन र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्न यस्तो निर्णय गरिएको हो । गोरखा जिल्लामा ११ स्थानीय तह छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक सूचना नै प्रकाशित गरी ती गाउँपालिकामा सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन भनेका हुन् ।

पालिकाहरुको यो निर्णय पछि ती स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने भएको छ ।

चालु शैक्षिक सत्रदेखि यो निर्णय लागू हुने पालिकाहरुले जानकारी दिएका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास पालिकाहरुले लिएका छन् । स्थानीय सरकारहरुले आआफ्नो वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका कुन कुन विद्यालयमा अध्ययन गर्छन् भन्ने तथ्यांक समेत संकलन गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update