Odapalika - The Fourth Estate - चौथो अंग
२ महानगर र ३ नगरपालिकालाई प्रश्न– निजी स्कुलले बर्सेनि भर्ना शुल्क लिन पाउने हो ?

काठमाडौँ । पहिला पढिरहेको विद्यालयमा माथिल्लो कक्षामा गएपछि फेरि भर्ना हुन नपर्ने भएपनि निजी स्कुलले विद्यार्थीसँग भर्ना शुल्क असुल गरिरहेका छन् । अहिलेको कानुनी व्यवस्था अनुसार एउटा विद्यालयमा एकपटक भर्नाभएपछि फेरि भर्ना हुन नपर्ने भएपनि निजी क्षेत्रबाट संचालित विद्यालयहरुले शिर्षक फेरेर मोटो रकम असुल गरेका हुन् ।

अहिले चालु शैक्षिक सत्रको लागि देशभर भर्ना अभियान चलिरहेको छ । यही समयमा निजी क्षेत्रबाट संचालित स्कुलले पहिलाको कक्षा पास भएर माथिल्लो कक्षामा पढ्नको लागि पनि भर्ना शुल्क उठाउने गरेका पाइएको छ । 

यद्यपि, ती विद्यालयहरुले भर्ना शुल्कको शिर्षक भने परिवर्तन गरेका छन् । उनीहरुले वार्षिक शुल्क नाम राखेर अभिभावक र स्थानीय सरकारलाई छल्ने प्रयास गरेका छन् । विद्यमान कानुनले विद्यालय तहसम्मको शिक्षाको नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ ।

निजी स्कुलले भर्ना शुल्क लिएको भेटिए कारबाही गर्ने स्थानीय सरकारका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् । काभ्रेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेन्जुले त्यही स्कुलमा पढिरहेको विद्यार्थीसँग भर्ना शुल्क लिन नपाइने बताए ।

‘जुन स्कुलमा पढेको छ, त्यही स्कुलमा पढ्नको लागि फेरि भर्ना शुल्क तिर्नुपर्ने भन्ने हुँदैन । धुलिखेल नगरपालिका भित्रका स्कुलले यसरी शुल्क लिएका छन् भन्ने जानकारी मलाई छैन । कसैले लिएको रहेछ भने त्यस्ता स्कुललाई कारबाही हुन्छ,’ धुलिखेल नगरपालिकाका प्रमुख बेन्जुले वडापालिकासँग भने ।

काभ्रेकै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी पनि एउटै स्कुलले पटक पटक भर्ना शुल्क लिन नपाइने बताउँछन् । उनले पनि यसरी शुल्क लिएको भेटिए कारवाही गरिने बताए ।

‘पहिलो पटक भर्ना हुँदा लिन पाइन्छ । त्यसपछि भर्ना शुल्क लिन पाइदैन । लिएको पाइए नगरपालिकामा उजुरी गर्दा हुन्छ, अनि प्रक्रियामा जान्छ,’ मेयर भण्डारीले वडापालिकासँग भने ।

काभ्रेको बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले एकपटकभन्दा बढी भर्ना शुल्क लिन नपाइने भएपनि निजी स्कुलहरुले अटेर गरेको बताए । पहिलो पटक भर्ना हुँदा मात्रै भर्ना शुल्क लिन पाइने र त्यसपछि भर्ना शुल्क नलिनु भनेर पत्र नै पठाएको भएपनि अझै पनि शुल्क लिएको गुनासो आएको उनको भनाइ छ ।

‘एउटा विद्यार्थीसँग एक पटकभन्दा बढी भर्ना शुल्क लिन पाइदैन । एउटा विद्यार्थीसँग एक पटकभन्दा बढी भर्ना शुल्क नलिनुस् भनेर हामीले पत्र पठाइसकेका छौं । तर निजी स्कुलले लिइरहेका छन् भन्ने गुनासो आइरहेका छन् । हामी फेरि परिपत्र गर्छाैं र प्रक्रिया अघि बढाउँछौं,’ प्रमुख प्रकाशकीय अधिकृत चापागाईंले भने ।

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर भने निजी विद्यालयले भर्ना शुल्क कति पटक लिन्छन् भन्ने आफूहरुलाई थाहा नै नहुने बताउँछन् । 

‘निजीको मामिला हामीलाई थाहा हुदैन । उनीहरुको कुरा हो । उनीहरु हामीले भनेको मान्दा पनि मान्दैनन्, हामीलाई थाहै हुन्न,’ प्रवक्ता मानन्धरले वडापालिकासँग भने ।

यद्यपि, काठमाडौँ महानगरकै शिक्षा शाखाका कर्मचारीहरु भने निजी विद्यालयहरुले पनि एउटा विद्यार्थीको लागि एक पटक मात्रै भर्ना शुल्क लिन पाइने कानुनी व्यवस्था रहेको बताउँछन् । यद्यपि, निजी विद्यालयहरुले उनीहरुको मासिक शैक्षिक शुल्कको २ महिना बराबरको रकम वार्षिक शुल्क भनेर लिन पाउने र सो रकमबाट कापी, कलम जस्ता शैक्षिक सामग्री उपलब्ध गराउन सक्ने तथा शैक्षिक भ्रमण पनि त्यसैमा समेट्नु पर्ने काठमाडौँ महानगरको शिक्षा शाखाका एक कर्मचारीले बताए ।

‘एउटा विद्यार्थीसँग एक पटक मात्रै भर्ना शुल्क लिन पाइन्छ । निजी विद्यालयहरुले त्यसपछि प्रत्येक वर्ष वार्षिक शुल्क भनेर लिने गरेका छन् । यो शुल्क पनि मासिक शैक्षिक शुल्कको २ महिना बराबरको रकम मात्रै लिन पाइन्छ । त्यो वार्षिक शुल्कबाट कापी कलम जस्ता शैक्षिक सामग्री र शैक्षिक भ्रमण खर्च हुन सक्छ । त्यसभन्दा बढी लिएको पाइए कारबाही गर्नुपर्छ । कानुनमा यही व्यवस्था छ,’ ती कर्मचारीले वडापालिकासँग भने ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन निजी विद्यालयहरुले वर्षैपिच्छे भर्ना शुल्क लिने गरेपनि रोक्न नसकिएको बताउँछन् ।

‘निजी स्कुलले भर्ना शुल्क नभने पनि अरु नै नाममा बर्सेनि शुल्क लिने गरेका छन् । यो नपाइनु पर्ने हो । हाम्रो महानगरमा पनि यो विषयमा खासै कुरा उठेको छैन । उपमेयरको संयोजकत्वमा शिक्षा सम्बन्धी हेर्ने एउटा संयन्त्र छ । म त्यसमा कुरा उठाउँछु, त्यसपछि उनीहरुले लिन पाउने हो कि होइन भन्ने यकिन जानकारी आउँला,’ प्रवक्ता महर्जनले वडापालिकासँग भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update