Odapalika - The Fourth Estate - चौथो अंग
हिमालयन रिमा लफडा, सुभल अग्रवालले पैसा लिइसकेको २८ लाख कित्ता सेयर नदिएको तिमिल्सिनाको आरोप

काठमाडौँ । लाइसेन्स लिदादेखि नै विवादमा परेको हिमालयन रि इन्स्योरेन्स कम्पनीमा अर्काे विवाद देखिएको छ । कम्पनीका संस्थापक सेयरधनी सुलभ अग्रवालले संस्थापक सेयर दिन्छु भनेर लिएको पैसा बराबरको सेयर नदिएको अर्का सेयरधनीले आरोप लगाएका छन् ।

बीमा क्षेत्रको नियामक निकाय राष्ट्रिय बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले २०७८ जेठ १६ गते सो कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिएको थियो । कम्पनीको चुक्ता पुँजी कम्तिमा १० अर्ब रुपैयाँ हुनुपर्ने लाइसेन्स लिने बेलाको शर्त थियो ।

कम्पनी स्थापनाको समयमा आफूले ३४ लाख ८० हजार कित्ता लिनको लागि रकम दिएको र सो रकम बराबरको सेयर दिन अग्रवाल तयार भएपनि पछि आलटाल गरेर अहिलेसम्म नदिएको एपेक्स ग्रुपका संचालक मुकुन्दप्रसाद तिमिल्सिनाले बताएका छन् ।

‘कम्पनीको लागि रकम जुटाउने पहल २०७८ को जेठबाटै सुरु भएको थियो । त्यही बेलामा सुलभजी (सुलभ अग्रवाल) ले सेयर लिनुस भन्नुभयो । मैले ३४ लाख ८० हजार कित्ता सेयर लिने भनेर उहाँलाई पैसा दिएँ । तर, उहाँले मलाई अहिलेसम्म जम्मा ६ लाख ७५ हजार कित्ता सेयर मात्रै दिनु भएको छ । बाँकी न पैसा फिर्ता गर्नुभयो, न त सेयर नै दिनुभयो,’ तिमिल्सिनाले भने ।

तिमिल्सिनाको भनाइ अनुसार अग्रवालले पैसा लिएर पनि तिमिल्सिनालाई २८ लाख कित्ता सेयर दिन बाँकी देखिन्छ ।

तिमिल्सिनाका अनुसार अग्रवालले अन्य सबै साझेदारहरूलाई पैसा बुझाए अनुसारको सेयर दिएका थिए । तर अन्य सेयरधनीसँगै पैसा बुझाएका तिमिल्सिनालाई भने ६ लाख ७५ हजार कित्ता मात्र सेयर दिएर अन्याय गरेको उनको दाबी छ ।

‘मैले ३४ लाख ८० हजार कित्ता सेयर खरिद गर्नको लागि पैसा बुझाएको प्रमाण मसँग छ । तर, मलाई जम्मा ६ लाख ७५ हजार कित्ता मात्रै सेयर दिइएको छ । कि मलाई मैले पैसा बुझाए बराबरको सेयर दिनुपर्यो, कि प्रचलित कानुन बमोजिम व्याजसहित रकम फिर्ता गर्नुपर्यो,’ तिमिल्सिनाले थपे ।

कोभिड महामारीको बेलामा नियामक निकायले सो कम्पनीलाई लाइसेन्स दिनको लागि गरेका गतिविधिको सोही समयमा आलोचना भएको थियो । तत्कालिन बीमा समितिले २०७८ बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित एउटा पुनर्बीमा कम्पनीको लाइसेन्स दिने जानकारी गराएको थियो । यसका लागि समितिले २१ दिनभित्रमा निवेदन दिन भनेको थियो । समितिले यस्तो सुचना प्रकाशित गर्नुपूर्व नै समितिमा करिब ४ वटा कम्पनीले पुनर्बीमाको लाइसेन्स माग्दै निवेदन दिएका थिए ।

Re-Insurance-Notice--1713444153.jpg
कम्पनीको सस्थापक सेयरधनीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राण, पशुपति मुरारका तथा नेपाल उद्योग परिसंघका तत्कालिन अध्यक्ष शतिश मोर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालगायत प्रभावशाली व्यवसायी थिए । यस कम्पनीको नेतृत्व भने सुलभ अग्रवालले गरेका थिए । अग्रवाल सो कम्पनीको लाइसेन्स लिनुभन्दा केही अघि कोभिड संक्रमण महामारीको बेलामा ज्वरो नाप्ने उपकरण थर्मल गनको बढी रकम लिएको अभियोगमा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update