Odapalika - The Fourth Estate - चौथो अंग
मुग्लिनका सडकमा रास्वपाको वाकीटकी डिउटी, समाजसेवा कि कानुनको उपहास ? 

काठमाडौँ  । जब पानी पर्ने सिजन सुरु हुन्छ, हरेक वर्ष नारायणगढ–मुग्लिङ सडकखण्ड समाचारको विषय बनिरहन्छ । 

निरन्तर खस्ने पहिरोका कारण हरेकदिन जसो यो सडक खण्ड अवरोध हुँदा काठमाडौँमा सोझो असर पर्छ । त्यही भएर पनि काठमाडौँसहित देशभरका मिडिया र नागरिक यो सडक खण्डको खबर लिइरहन्छन् । 

मंगलवार यो सडक खण्डमा पहिरो पन्छाउन सुन्तला रङ्गको ज्याकेटमा घन्टी चिन्ह भन्दा माथि अंग्रेजीमा आरएटी लेखेका व्यक्ति हातमा वाकीटकी बोकेर यो क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटेको तस्वीर मुग्लिङ बजार नामक फेसबुक पेजबाट सार्वजनिक भयो । 

यो पेजका अनुसार वाकीटकी बोकेर ट्राफिक व्यवस्थापनमा जुटेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । जसलाइ रास्वपाले र्‍यापिड एक्सन टीम भनेको रहेछ । 

चितवनको कालीखोला क्षेत्रमा खटिएका यी कार्यकर्ता भनिएका व्यक्तिहरुलाई रास्वपाले खटाएको हो होइन, ती व्यक्ति को थिए भन्ने विषय अहिलेसम्म औपचारिक रुपमा बाहिर आइसकेको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टी नामक एउटा फेसवुक पेजमा भने रास्वपाका कार्यकर्ताहरु प्रहरीसँगको समन्वयमा ट्राफिक जाम खोलाउन सहीकरण गरिएको उल्लेख छ । 

जसमा भनिएको छ–  नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउँर्दै यापिड एक्सन टिम (R.A.T) अवरुद्ध सडकमा खटिएका प्रहरीहरुलाई सहयोग गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले मुग्लिङ–नारायणगढ सडक खण्डमा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न कालीखोलालगायतका विभिन्न स्थानमा सहजीकरण गरेको थियो ।

हेर्नुहोस पेजको स्क्रिन सट 

raswapa screenshot1691570999.JPG

यो पोष्टमा सुन्तला रङ्गको ज्याकेटका अतिरिक्त निलो ज्याकेट लगाएका ७ जनाको तस्बीर पनि राखिएको छ । उनीहरु जाम हटाउन खटेका हुन कि होइनन् भनेर पेजमा उल्लेख छैन । रास्वपा चितवनाका नेता कार्यकर्तासमेत यस विषयमा बोल्न चाहिरहेका छैनन् । 

सडक सहजीकरणमा खटेको भन्दै धेरेले प्रसंसा गरेको झण्डै २४ घन्टापछि भने जिल्ला प्रसाशन कार्यालय चितवनको एउटा बिज्ञप्तिले रास्वपाले गरेको दाबी झुटोमात्र देखाएको छैन, उसले गैरकानुनी कामसमेत गरेको देखिएको छ । 

‘हिजो मुग्लिन–नारायणगढ खण्डको कालीखोला भन्ने स्थानमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइ सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेकोमा कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं,’ चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधवार जारी गरेको सूचना भनिएको छ ।

ठूला विपद्का घटनामा आफ्नो परिचयविना विशुद्ध स्वयंसेवी बनी सघाउन सकिने भए पनि कुनै दल विशेषको सहयोग आवश्यक नरहेको सूचनामा उल्लेख छ ।

‘ठूला विपदका घटनाहरूमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयविना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रूपमा जिल्लारस्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने व्यहोरा समेत सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । 

हेर्नुहोस् विज्ञप्ति 

364989392_818305509749960_7567606134361042779_n1691571077.jpg

साथै तस्वीरमा देखिएका युवाहरूले बोकेको वाकीटकी अनुमतिसहितको हो कि हैन भन्ने विषयमा समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामार्फत जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अनुमति लिएको छैन भनेको अवस्थामा रास्वपाको नाममा खोलिएको सो फेसबुक पेजमा किन समन्वयमा काम गरिएको भनेर उल्लेख गरिएको हो भन्ने विषय भने रहस्यमय छ । 

सामाजिक संचाल प्रयोगकर्तामध्ये कतिपयले यो कामको प्रसंसा गरेका छन् । तर अधिकांशले भने अनुमति नलिइ वाकीटकी बोकेर हिँडेको, सस्तो लोकप्रियता र प्रचारबाजीमा रमाएको भन्दै प्रतिकृया दिएका छन् । 

विपद्का बेला मानवीय सहयोगमा जुट्नु सबैको कर्तव्य भएपनि राजनीतिक दलको आवरणमा कानुनी प्रकृया पुरा नगरी दलको प्रचार गर्ने शैलीमा सामाजिक कार्यमा लाग्नुलाई भने धेरैले कानुनको उपहास र सस्तो लोकप्रियता भनेका छन् । 


 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update