Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले थाल्यो नसर्ने रोग नियन्त्रणसम्वन्धि तालिम 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि तालिम आयोजना गरिएको हो । 

अहिले विश्वमा नसर्ने खाल रोगले जनस्वास्थ्यमा महामारीको रुप लिँदै गएको छ । महानगरपालिका भित्रका अस्पतालहरु (सरकारी, सामुदायिक, निजी), स्वास्थ्य केन्द्रहरुमा गएको ६ महिनाभित्र उपचारका लागि गएका विरामीहरुको संख्या हेर्दा सबैभन्दा धेरै मधुमेह (२१ हजार ४३५ जना) का विरामी छन् । 

यसपछि हाइपरटेन्सन (१९ हजार ६९२ जना), श्वासप्रश्वास सम्बन्धी (११ हजार २११ जना), दाँत सम्बन्धी (१० हजार १ सय जना), आँखा सम्बन्धी (रिफ्राक्टिभ इरर) (१० हजार २६ जना), दाँत दुख्ने विरामी (९ हजार २ जना), ज्वरो आउने (८ हजार २४० जना), पेट सम्बन्धी समस्या भएका (७ हजार ५१५ जना), युरिनरी ट्र्याकको इन्फेक्सन भएका (६ हजार २०७ जना) विरामीले उपचार लिएका छन् । 

यो तथ्याङ्क डिष्ट्रिक्ट हेल्थ इन्फरमेसन सिस्टम (डीएचआइएस) मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ओपीडी सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाबाट भरिएको हो । तथ्याङ्क उधृत गर्दै स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले भनिन्, ‘यस्ता समस्या समाधानका लागि औषधिको मात्रासँगै स्वस्थ्यकर जीवन र खानपानका लागि परामर्श आवश्यक पर्छ । यसकारण विरामीको जाँच गर्ने र औषधि प्रदान गर्नेहरुका लागि तालिम आयोजना गरिएको हो ।’

प्रणालीमा गएको बर्षको अङ्क हेर्दा काठमाडौँ महानगरपालिका अस्पतालहरुमा उपचारका लागि गएका २ लाख ९७ हजार ९०९ जना नसर्ने खालको रोगसँग सम्बन्धित थिए । यसमध्ये मधुमेहका विरामीको संख्या सबैभन्दा धेरै (३२ हजार ३७५ जना) थियो । यसपछि हाइपर टेन्सनका विरामीको संख्या ३१ हजार ३०८ जना, दाँत सम्बन्धी समस्या भएका विरामीको संख्या १८ हजार १७७, श्वाश प्रश्वास सम्बन्धी समस्या भएका विरामी १८ हजार १५ जना, टाउको दुखाइ भएका विरामी १६ हजार ७३५ जना, दाँतको दुखाइ भएका विरामीको संख्या १६ हजार १३४ जना, पेटको समस्या भएका १४ हजार ८८५ जना, निमोनिया भएका १३ हजार ४३० जना थियो । सर्ने रोगहरुमा डेङ्गीका विरामीको संख्या १४ हजार ९७५ जना थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update