Odapalika - The Fourth Estate - चौथो अंग
गुल्मीका ५ स्थानीय तहमा ३ दिनदेखि निभेन डढेलो, करोडौँको क्षति

काठमाडौँ । गुल्मीका विभिन्न ५ वटा स्थानीय तहमा ३ दिनदेखि निरन्तर लागेको डढेलोका कारण करौडौँ रुपैयाँको क्षति भएको छ । वनबाट सल्केको डढेलोले ६७ वटा भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया गोठमै जलेर मरेका छन् । 

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए ।  बस्तीमा आगो प्रवेश गरेपछि इस्मा गाउँपालिकाका सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । 

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भए । वडा नम्बर २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा ४० घर जलेर नष्ट भएका छन् । 

वडा नम्बर ४ को  तिम्लेखर्कमा २३ घर  गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा पनि ५ भन्दा वढी घर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिए ।

इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण २ जना घाइते भएका छन् भने थुप्रै पशु चौपाया मरेका छन् । आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । 

आगलागी पीडितलाई राहत वितरणको काम सुरु भएको पालिकाहरुले जनाएका छन् । आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । 

गुल्मीको इस्मा, रेसुङ्गा, गुल्मीदरबार लगायतका पालिकाहरुमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update