Odapalika - The Fourth Estate - चौथो अंग
निजी स्कुललाई नगरपालिकाको निर्देशनः भर्ना शुल्क नलिनू, लोगो राखेर कपी नबेच्नू 

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नयाँ भर्ना हुन आउनेबाहेकका विद्यार्थीलाई भर्नाका नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको छ । 

निजी विद्यालयले विद्यार्थीबाट वार्षिकलगायतक शुल्कका नाममा चर्को भर्ना शुल्क असुल गर्न थालेपछि नगरपालिकाले यस्तो निर्देशन दिएको हो । 

‘विद्यालयमा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुवाट मात्र भर्ना शुल्क लिन पाइने छ । एक कक्षामा भर्ना भइसकेपछि सोही विद्यालयको अर्को कक्षामा भर्ना हुँदा भर्ना शुल्क लिन पाइने छैन । भर्ना शुल्क वापत एक महिनाको मासिक शुल्क बराबर हुन आउने रकम मात्र लिन पाइने छ । भर्ना शुल्क विद्यार्थीको रजिष्ट्रेशन र प्रोफाइल अद्यावधिक गर्नका लागि खर्च गर्न पाइने छ,’ नगरपालिकाको निर्देशनमा उल्लेख छ । 

विद्यालयहरुले बार्षिक शुल्कको नाममा  २ महिनाको मासिक शुल्क रकम बराबर हुन आउने रकम मात्र लिन पाउने नगरपालिकाको निर्देशनमा उल्लेख छ । 

यस्तो वार्षिक शुल्क खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, पुस्तकालय, प्राथमिक उपचार र विद्यालय मर्मत संभार कार्यमा खर्च गर्नुपर्ने उल्लेख छ । 

यता छन् अन्य निर्देशन 

मासिक शुल्कको ५० प्रतिशतले हुन आउने रकम मात्र परीक्षा शुल्क वापत लिन पाइने छ । परीक्षा शुल्क वार्षिक रुपमा वा किस्तावन्दीमा लिन पाइने छ ।

स्थानान्तरण प्रमाण पत्र शुल्क वापत १ हजारमा नबढाइ लिन सकिने छ ।

विद्यालयको लोगो राखेको कपी प्रयोग गर्न पाइने छैन । कुनै पनि स्टेशनरी पसलले पनि विद्यालय विशेषको लोगो राखी कपी वेच्न पाउने छैन ।

विद्यालय परिसरबाट पाठ्यपुस्तक, स्टेशनरी सामान र विद्यालय पोशाक तथा झोला बेच्न प्रतिवन्ध गरिएको छ । विद्यालयले लोगोविनाको विद्यालय पोशाक प्रयोगमा ल्याउने प्रबन्ध गर्नुपर्ने छ । प्रचलित बजार मूल्य भन्दा बढी नहुने गरी कम्तिमा ३ ओटा भन्दा बढी पसलबाट विद्यालय पोशाक तथा झोला उपलव्ध हुने प्रबन्ध गर्नुपर्ने छ ।

शैक्षिक सत्र २०८१ मा छात्रवृतिको सूचना प्रकाशन नगरेका विद्यालयहरुले मिति २०८१ वैशाख १५ गतेभित्र सूचना प्रकाशित गरिसक्नु पर्ने छ ।

नगरपालिकाले निर्धारण गरेको शुल्क भन्दा बढी नहुने गरी शुल्क ढाँचा कार्यान्वयन गर्नुपर्ने छ ।

नगरपालिकाले निर्धारण गरेको शुल्क ढाँचामा समावेश नभएका विषयहरु (विशेष प्रशिक्षण शुल्क, परामर्श शुल्क, आवास शुल्क, दिवा खाजा शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण शुल्क आदि) विद्यालयको कुल अभिभावकको दुई तिहाइ अभिभावकको निर्णयबाट प्रचलित बजार मूल्यका आधारमा निर्धारण गरी लागु गर्नुपर्ने छ र सोको जानकारी नगरपालिकालाई अविलम्ब गराउनु पर्नेछ ।

budanilakhantha-1713695025.jpeg
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update