Odapalika - The Fourth Estate - चौथो अंग
देशभर आगलागी र डढेलो, कहाँ कति क्षति ? 

काठमाडौँ । गर्मी सिजन सुरु भएसँगै देशव्यापी रुपमा आगलागी र डढेलोका घटनामा उल्लेख्य वृद्धि हुन थालेको छ । 

देशका विभिन्न भागमा भएका आगलागी र डढेलोका कारण कतिपयको ज्यान नै गएको छ भने पशु चौपायादेखि भौतिक सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको छ । 

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा  १३ लाखभन्दा बढीको क्षति भएको छ । 

आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात जलेर नष्ट भएका छन् । 

उता अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटामा शनिबार लागेको आगोले बसन्ता मल्लको घर पूर्ण रुपमा जलेको छ भने १६ घरमा क्षति पुगेको छ । 

स्थानीयका घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भएका छन् । 

आगलागीमा परेर घर जलेपछि १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् ।

आगोले भूमिकास्थान नगरपालिका  धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा१६ घर र १०   गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । 

जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा  डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भए भने ११ बाख्रा र ६ वटा भैँसी मरेका छन् ।

उता  सप्तरीको कञ्चनरुप नगरपालिका–५  पडेमराको सरदार टोलमा आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । 

स्थानीय लालमोहन सरदारको गाईगोठमा बालेको आगोबाट  आगलागी सुरु भएको  थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडा र दुई वटा बाख्रासहित रु २५ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।    

बाजुराको बडीमालिका नगरपालिका–१ नुवाकोटमा आगलागी हुँदा दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।  

स्थानीय आइते ल्वार र जयवीर ल्वारको घरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घर नजिकै बनाइएको बाख्राको गोठमा राखिएको घाँसमा बालबालिकाले आगो लगाएपछि घरमा आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट अन्नपात, भाँडाकुँडा, कपडालगायत जलेर नष्ट भएका छन् । 

यता, गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । 

आगलागीबाट करोडाँैका भौतिक संरचना एवं सयौँ चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।

शनिबार दिउँसोबाट इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक बनमा लागेको आगो बस्तीमा पसेको थियो जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जलेका छन् भने दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको छ ।  

इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण१९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । 

जंगलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो । इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका साथसाथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ । 

आगोले विद्युतको सबस्टेसनसमेत जलेको छ । वनमा लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत सबस्टेसन जलेको छ । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ भने तीनवटा घर जलेर नष्ट भएका छन् ।   
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update