
काठमाडौँ । वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७०० कर्मचारी खटाइने भएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा ७ जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।
मतदान केन्द्र अनुसार इलाममा १ हजार ४३ र बझाङमा ६५१ गरी कुल १ हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा ५ जना सहयोगी कर्मचारी रहने छन् ।
उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।