Odapalika - The Fourth Estate - चौथो अंग
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास 

काठमाडौँ । दाङकोे गढवा गाउँपालिकाको न्यायिक समितिले  गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा घुम्ती न्यायिक इजलास कार्यक्रम सम्पन्न गरेको छ । 

गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न इजलास कार्यक्रममा ७ नम्वर वडाका कार्यबाहक वडाध्यक्ष महेन्द्र प्रसाद चौधरी लगायतको सहभागिता थियो ।

न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजलास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन् । स्थानीय तहमा न्यायिक समिति मार्फत न्याय सम्पादनमा आइपरेका समस्याका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिइन् ।  

न्यायिक समितिको काम, कर्तव्य र अधिकारको बारेमा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्कीले सहजिकरण गरेका थिए । 

न्यायिक समितिले के कस्ता मुद्दाहरु हेर्न पाउने के कस्ता मुद्दा हेर्न नपाउने? मुद्दा भनेको केहो ? मुद्दाको प्रकार, के कस्ता मुद्दा न्यायिक समितिले हेर्न मिल्ने लगायतको बारेमा जनतालाई जानकारी दिने उद्देश्यले न्यायिक समितिले गाउँपालिकाको सबै वडामा घुम्ती न्यायिक इजलास कार्यक्रम सुरु गरेको संयोजक चौधरीले बताए ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने जानकारी दिदै उपाध्यक्ष चौधरीले दुबैपक्षलाई जीत हारको भन्दा पनि चित्त बुझ्दो न्याय दिने गरेको बताइन् । 

कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा, देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, वडासदस्यहरु र वडाका अघरिया, कटकन्दार, प्रधान गाउका मुख्य व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमको न्यायिक सम्बन्धी गढवा गाउँपालिका कानुनी सल्लाहकार कार्कीको प्रस्तुतीकरण थियो । 

न्यायिक समिति सदस्य देवीलाल थारु कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update