Odapalika - The Fourth Estate - चौथो अंग
७५३ वटै स्थानीय तह पुगेर नेविसंघले भन्योः विद्यालयमा शुल्क नलेऊ 

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षा सुधारसहित विभिन्न माग राखेर देशभरका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । 

नेविसंघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले शिक्षा सुधारका लागि विभिन्न माग राखेर देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको बताए ।

उनले गत चैत २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार यही वैशाख ६ गते सबै स्थानीय तहमा १७ बुँदे ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

वैशाख ६ गते देशभरका ६१३ स्थानीय तह, वैशाख ९ गते १२७ पालिकामा र बाँकी ९ पालिकामा इमेलमार्फत ज्ञापनपत्र बुझाएको उनको भनाइ छ ।

नेविसङ्घले स्थानीय तहसँग विद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने, कूल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने, माटो सुहाउँदो स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने, पोषणयुक्त दिवा खाजा दिनुपर्ने, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, विद्यालय आफैँले किताब बिक्री गर्ने कार्यको अन्त्य हुनुपर्ने, शिक्षकलाई न्यूनतम पारिश्रमिकभन्दा बढी दिनुपर्नेलगायत माग राखेको छ । 

अध्यक्ष शेर्पाले सार्वजनिक शिक्षाप्रति आमनागरिक तथा विद्यार्थीको भरोसा आर्जन गर्दै सरकारी र निजी विद्यालय शिक्षामा देखिएको खाडल पुर्नका लागि ज्ञापनपत्रले सहयोग पुग्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update