Odapalika - The Fourth Estate - चौथो अंग
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता 

ललितपुर । ललितपुरको महांकाल गाउँपालिकामा २२ बैशाखदेखि बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने सो प्रतियोगितालाई महांकाल गाउँपालिका उपाध्यक्षले  संयोजन गर्दैछिन् । महांकाल गाउँपालिकामै आयोजना हुने यो प्रतियोगिता ललितपुर जिल्लामा हुने खेल प्रतियोगितामध्येकै सर्वाधिक राशिको भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय गरिरहेको यो प्रतियोगितामा बागमती प्रदेशभित्रका ११९ मध्ये ५० वटा पालिकाले सहभागिता जनाउने अपेक्षा राखिएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता’की संयोजकसमेत रहेकी महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

भलिवल प्रतियोगिताको आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराइका अनुसार प्रतियोगितामा टिम दर्ता गर्न १५ हजार शुल्क तिर्नुपर्ने छ भने बिजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

उपबिजेताले २ लाख र तेस्रो हुने टीमलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट ५ जना प्रशिक्षक र खेलाडीलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार दिइने प्रतियोगिताकी संयोजक गोलेले जानकारी दिइन् । 

आयोजकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने खेलमा १ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान छ भने उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेतालाई समेत अतिथिका रुपमा बोलाइएको छ । 

खेल कुन विधिबाट खेलाइने भन्ने तय भने सहभागी टिम टुंगो लागेपछि गरिने छ । सहभागीले १५ बैशाखसम्ममा टीम दर्ता गर्न पाउनेछन् । 

आयोजकका अनुसार विभागीय टीमबाट खेल्ने र अन्तर्राष्ट्रिय खेलाडीलाई भने पालिकाहरुले टिममा सहभागी गराउन पाउने छैनन् । यसबाहेक सम्वन्धित पालिकाले देशभरका जुनसुुकै स्थानका खेलाडीलाई पनि टिममा सहभागी गराउन पाउने आयोजकको भनाइ छ । 

प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ । 

‘राजधानीको नजिक भएर पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्रहरु अझै विकासका गतिले पछि परेको अवस्थामा छन् । प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने अपेक्षा छ,’ पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजकसमेत रहेकी महांकालकी उपाध्यक्ष गोलेले भनिन् । 

बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा  निमन्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाइने तयारी आयोजकको छ । यद्यपि सहभागी टीम तय भएपछि मात्र प्राविधिक विषय टुंगो लगाइने आयोजकको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update