Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्रीले ढुंगा–गिटीको आयस्रोत रोकेपछि गोदावरीका मेयरको आक्रोस 

काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा, गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन् । 

महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा, गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए । उनले गोदावरी नगरपालिकाभित्र ढुंगा खानीको विषयमा गलत प्रचार प्रसार भएको पनि जिकिर गरे । 

उनले भने, ‘हाम्रो आन्तरिक आयको मुख्य स्रोत ढुंगा–गिटी नै हो । भएको स्रोतलाई परिचालन गर्नैपर्छ । तर त्यसको व्यवस्थापन र मापद्दण्डलाई कायम गर्न सक्नुपर्छ ।’

नगर प्रमुख महर्जनले आन्तरिक आय बढाउने स्रोत नै ढुंगा, गिटी र बालुवा उत्खनन् भइरहेकाले त्यसको सहजीकरणका लागि संघीय सरकारले कानूनी रुपमा खुला गरिदिन गृहमन्त्रीसँग अनुरोध गरे ।  

‘गोदावरी नगरपालिकाको विषयमा गलत प्रचार प्रसार भएको छ । त्यसमा मेरो आपत्ति छ । हामीकहाँ चारवटा ढुंगा खानी छन् । मिडियाले ४० वटाजति छन् भन्ने व्याख्या गरिदिन्छन् । क्रसरहरु आठ दशवटा छन् । गृहमन्त्रीलाई म अनुरोध गर्न चाहन्छु, देशभरि मापद्दण्डको समस्या छ, उहाँले बनाइदिनु पर्यो ।’

उनले थपे, ‘पहिलो पटक गृहमन्त्री हुँदा उहाँले रोक्नु भएको थियो । के कारणले बन्द भयो ? के कारणले खुल्यो थाहा भएन । तर दोस्रो पटक गृहमन्त्री भएर आउँदा संघीय सरकारले व्यवस्थापन, मापद्दण्ड र नीति बनाउने भएकाले यसलाई छिटो भन्दा छिटो मापद्दण्ड कायम गरिदिनुप्यो । ’ 

गोदावरी नगरपालिका–७ देवीचौरमा राष्ट्रिय वन नै मासेर अवैध रुपमा खानी सञ्चालन हुँदै आएको छ । राष्ट्रिय वन अन्र्तगत पर्ने ३९४ रोपनी वन क्षेत्रमा अवैध रुपमा खानी सञ्चालन भइरहेको हो । त्यसको स्थानीय र सञ्चारमाध्यमले खवरदारी गरिरहँदा पनि मौन जस्तो बसेको स्थानीय सरकार उल्टै मापद्दण्ड र नीति बनाएर खानी सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । 

स्थानीय पूर्वजनप्रतिनिधिहरु नै गोदावरीको विभिन्न स्थानमा रहेको क्रसर तथा खानी सञ्चालनमा संलग्न रहेको, राष्ट्रिय वन नै मासेर अवैध उत्खनन् भइरहँदा पनि सरोकारवाला निकाय कारवाही गर्नेबारे मौन छ । 

नगरप्रमुख महर्जनले पूर्वाधार विकासको क्षेत्रमा नगरपालिकाले उत्कृष्ट काम गरेको दाबी गरे । पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर सडक, बाटो निर्माण गरेको बताएका उनले खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत आमुल परिवर्तन गरेको उल्लेख गरे । 

‘जवसम्म पूर्वाधार राम्रो हुँदैन तवसम्म नगरको स्वरुपमा परिवर्तन हुन सक्दैन भनेर पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले विशेष बजेट छुट्यायौं । त्यही अनुसार पालिकाले नाका छिर्ने हरेक बाटो, सडक कालोपत्रे गरेको छ । चापागाउँ, थेचो, टीकाभैरव, गोदावरी–बाँणेगाउँको बाटो हामीले नै पहलकदमी लिएर निर्माण गर्यौं, अधिकांश क्षेत्रमा बाटो राम्रो भएको छ,’ महर्जनले भने । 

उनले आफ्नो पहिलो कार्यकालमा भौतिक पूर्वाधारको विकास र दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले नगरको विभिन्न वडाहरुमा खानेपानीको हाहाकारको अवस्थालाई सुधार गरेर  ५,६ र ८ नम्बर वडामा समेत खानेपानीको ठूला परियोजना सञ्चालन गर्न लागेको जानकारी दिए । गोदावरी नगरपालिकालाई आगामी ५० वर्षसम्म खानेपानीको उपलब्धता गराउन सक्नगरी दीर्घकालीन योजन बनाएर काम गर्न लागेको जनाए । 

नगरको मूख्य सडक सातदोवाटो–गोदावरी, सातदोवाटो–चापागाउँ सडकलाई अझै पूर्णता दिन किन नसकेको भन्ने प्रश्नमा महर्जनले भने, ‘विगतमा ति सडकमा  हिलो र धुलो नै थियो । अहिले हिलो र धुलोलाई हटाएर कहीं ढलान कहीं कालोपत्रे हामीले नै गरेका हौं । मैंले आफ्नो दुई कार्यकालमा चाहेर पनि स्थानीय तहमा जिम्मेवारीमा नपरेका कारण यस्ता केही काम गर्न सकिन । क्षतिपूर्ति र मुआब्जा संघीय सरकारले नदिएसम्म बाटो विस्तारको कार्यलाई अगाडि बढाउनसक्ने अवस्था छैन । संघीय सरकारले जबसम्म प्राथमिकता दिँदैन तबसम्म बाटो विस्तार हुँदैन ।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update