Odapalika - The Fourth Estate - चौथो अंग
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले ४ वटा भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहज होस भनेर मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो ।

बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरे ।  

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं,’ उनले भने,‘आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।’

उनले स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउन सक्ने बताए ।

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौँ । यसमा विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकल परिमार्जन गर्दै लगिन्छ ।’ 

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन् । उनले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या छ ।

आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।

सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ । कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।

बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिटै नै डिजिटल रुपमा सबै वडाहरुमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update