Odapalika - The Fourth Estate - चौथो अंग
नेजाले मनायो १७औँ स्थापना दिवस 

काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विविध कार्यक्रमका साथ स्थापना दिवस मनाएको छ । 

१७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया  तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात ‘नेजा डे’ को रुपमा मनाउन सुरु गरेको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिए । 

नेजाले स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारी, नेजाका संस्थापकहरू, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष, पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघका अभियन्ताहरूको सहभागितामा अप्रिल २१ मा विद्युतीय माध्यम जुममार्फत बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

सो अन्तरक्रियामा प्रवासको पत्रकारिताका विविध आयाममाथि सहभागिहरूले धारणा राखे । नेजाले क्षेत्रगत रुपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सास राज्यको युलेस र म्यासाच्युसेट्स राज्यको बोस्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइयो । 

नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो । रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाइएको बताउँदै नेजाका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि  विझिन्न कार्यक्रम सञ्चालन गर्न  लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताए ।

अध्यक्ष भण्डारीले नेजा र नेपाल पत्रकार महासंघबीचको सम्झौता र सहकार्यबाट धेरै कुरा गर्न सकिने बताउदै नेपाल पत्रकार महासंघसंगको सहकार्यमा नेजाले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको जानकारी दिए ।

नेजाले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्सासको युलेस सहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

यसैगरी, अप्रिल २१ मा टेक्सासको डालसमा बस्ने पत्रकारसँग शुभकामना साटासाट गरेको थियो भने म्यासाच्युसेट्स राज्यको बोस्टनमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update