Odapalika - The Fourth Estate - चौथो अंग
वडाको पहलमा २० वर्ष पुराना ढुंगा विस्थापित 

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका शहरी क्षेत्रका साँघुरा गल्लीहरु २० वर्ष बिच्छ्याइएका ढुंगाहरु बिग्रन थालेपछि महानगरले पुर्ननिर्माणलाई तिब्रता दिएको छ । 
पुरानो भएका कारण ढुंगाहरु फुट्ने र उप्किने समस्या देखिएपछि सडकमा ब्लक छाप्न सुरु गरिएको हो । 
महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि ब्लक राख्न थालेको जनाएको छ । चालु आर्थिक वर्षमा नमुनाका रुपमा ६ हजार ५०० वर्ग फिट क्षेत्रमा ब्लक लगाइएको अध्यक्ष राजेश डङ्गोलले जानकारी दिए । 
ब्लक छाप्ने क्रममा पुरानो ड्रेन भरिएको गुनासो आएपछि ढलका लागि नयाँ पाइपसमेत राखिएको उनको भनाइ छ । 
ढुंगाले गर्मीमा पोल्ने र जाडोमा चिसो हुने भएका कारण बिकल्पमा वातावरण मैत्री ब्लक छापिएको वडाध्यक्षको भनाइ छ । 
एशियन ब्लक कम्पनीले ५ वर्षसम्म ब्लक फुटेमा निःशुल्क फेरिदिने सम्झौता गरेको वडा सदस्य कृष्ण प्रजापति बताउँछन् ।  
पहिले राखिएको ढुंगा निकालेर वडाले सुरक्षित राखेको छ । ढुंगाकै माग गर्ने टोलमा भने पुरानै ढुंगा छाप्ने योजना पनि वडा कार्यालयले बनाएको छ । 
बैगुनधुरा निर्माण सेवाका सुपरभाइजर उत्तम श्रेष्ठ ढुंगा बिच्छ्याउँदा बेला बेलामा मर्मत गर्नुपर्ने भएकाले ब्लक राखिएको बताउँछन् । वडाको पहलमा व्लक राख्ने काम सुरु भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । 
‘२० वर्ष पुरानो ढुंगाका कारण बाटो हिड्नै समस्या थियो,’ स्थानीय रामकृष्ण प्रजापति भन्छन्, ‘वडाको पहलमा ब्लक राखेपछि टोलको सौन्दर्यमात्र वढेको छैन, आवतजावतमा पनि सजिलो भयो ।’
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update