Odapalika - The Fourth Estate - चौथो अंग
बस भाडा तिरेर विद्यार्थी बोक्ने वडाध्यक्ष 

मकवानपुर । हेटौडा उपमहानगरपालिकाबाट निकै टाडाको दुरीमा पर्छ वडा नम्बर १८ हर्नामाडी । 

हेटौडा बजार पुग्न दैनिक १३ किलोमिटरको यात्रा गर्नुपर्दा वडावाट उच्च शिक्षा लिन हेटौडा बजार आउने विद्यार्थीले दैनिक चर्को बसभाडा खर्च गर्नुपर्ने अवस्था थियो । 

तर अब यो अवस्था रहेन । वडाध्यक्ष अनिल बानिया र जनप्रतिनिधिहरुको पहलमा हेटौडा बजारमा उच्च शिक्षाका लागि बस चढेर आउने विद्यार्थीको भाडा अब वडाले नै तिरिदिने भएको छ । 

वडाध्यक्ष बानियाका अनुसार वडाले निर्णय नै गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका विद्यार्थीको हेटौडा आउजाउको भाडा तिर्ने निर्णय भएको छ । 

यसका लागि वडाले हरेक विद्यार्थीलाई कार्ड बनाइदिएको छ । यो कार्ड देखाएर स्थानीय रुटमा चल्ने बसमा विद्यार्थी चढेर हेटौडा पुग्न पाउँछन् । 

‘हामीले स्थानीय वस व्यवसायीसँग वडाबाट हेटौडा बजार पुगेर फर्किएको प्रतिव्यक्ति ८० रुपैयाँ भाडा तिरिदिने भएका छौं, बस व्यवसायीले हाल एकतर्फी नै ७० देखि ८० रुपैयाँ लिदै आएका छन् । विद्यार्थीलाई सहज होस भनेर यस्तो निर्णय गरेका हौँ,’ वडाध्यक्ष बानियाले वडापालिकासँग भने । 

हेटौडा नगरपालिकाभित्रको यो सवैभन्दा टाडा दुरीमा रहेको वडा हो । जहाँबाट दैनिक रुपमा हेटौडा पुगेर अध्ययन गर्न विद्यार्थीले चर्को बसभाडा तिर्नु परिरहेको थियो । वडा कार्यालयको यो निर्णयसँगै अब वडाभित्रका ७५ जना भन्दा वढी विद्यार्थी निःशुल्क बस चढेर हेटौडासम्म अध्ययन गर्न पुग्न सक्ने भएका छन् । 

वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । जसमध्ये ज्योति सामुदायिक विद्यालयमा मात्र कक्षा १२ सम्म पढाइ हुने गरेको वडाध्यक्ष बानिया बताउँछन् । 

कमर्स, मानविकी र शिक्षा संकायका विषयमात्र पढाइ हुने र अन्य विषय वढ्न चाहने विद्यार्थीले हेटौडा बजारका क्याम्पससम्मै पुग्नुपर्ने वाध्यता गाउँमा छ । नयाँ विषय पढन चाहने विद्यार्थी बसभाडा कै कारण गाउँमा नरोकिउन भनेर भाडा वडाले व्यहोर्ने नीति लिएको वडाध्यक्ष बानिया बताउँछन् । 

निरन्तर २ कार्यकाल वडाध्यक्षको जिमेवारी सम्हालेका बानियाले आफु निर्वाचित भएर आएपछि वडाभित्रका ४२ किलोमटिर लामो सडक संजाल सबै पक्की बनाउन सकिएको बताए । वडावासी र जनप्रतिनिधिको सहयोगमा पछिल्लो कार्यकालमा मात्र वडाका सवै नागरिकको घरघरमा खानेपानीको धारा पुगेको उनको भनाइ छ । 

उपमहानगरपालिकाले एमविविएस पढ्न हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएकामा यस वर्षदेखि आफ्नो वडाले पनि १ लाख रुपैयाँ दिने नीति लिएको उनी बताउँछन् । यसपटक उनको वडाबाट २ जना एमविविएस पढ्न छानिएका छन् । 

अहिले वडाभित्र प्रहरी चौकी, ल्याबसहितको स्वास्थ्य चौकी, बर्थिङ सेन्टरलगायतका पूर्वाधार बनिसकेका छन् । 

पछिल्लो २ वर्षमा ५ करोड रुपैयाँ खर्च गरेर वडाभित्रका खोलामा पर्ने ६ वटा काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गर्ने कामसमेत सम्पन्न गरेको वडाध्यक्ष बानिया बताउँछन् । 

वडा नम्बर १८ ले वडाको सुरक्षाका लागि वडाभर कभर गर्नेगरी यसै वर्ष सिसि क्यामेरासमेत जडान गरिसकेको छ । वडाध्यक्ष बानियाका अनुसार वडाका सबै सडक र बाटोमा राखिएका सिसि क्यामेराले वडाभर के भइरहेको छ भनेर निगरानी गर्न सक्नेछन् । सवै वडालाई समेट्नेगरी सिसि क्यामेरा जडान गर्ने यो वडा हेटौडा उपमहानगरपालिकाकै पहिलो बनेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update