Odapalika - The Fourth Estate - चौथो अंग
कतारका राजासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले को–को लगे ?

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला ‘वान टु वान’ भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । 

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगस लगायत विविध पाँच समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार दिउँसो काठमाडौं आएका हुन् । शेख थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे । थानी मंगलाबर राष्ट्रपति पौडेलले शितल निवासमा आयोजन गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री वर्षमान पुनलगायत सरकारका मन्त्रीहरु पनि सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update