Odapalika - The Fourth Estate - चौथो अंग
अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन 

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित रहेको भन्दै यसले स्वरोजगारको संख्या नबढेको बताए । 

‘प्रधानमन्त्री रोजगार कार्यक्रमले चौतारो, सिढी बनाउनभन्दा बाहेक राष्ट्रिय गौरवका आयोजनाहरु, सडक, घर, पोल निर्माण जस्ता काममा लगाई दिएको थियो भने राम्रो हुने थियो । अथवा त्यही कार्यक्रमलाई तालिममा लगाएका थियौं भने स्वरोजगारको संख्या बढ्ने थियो । तर हामीले चौतारो, सिढी बनाउन सिक्यौ यो समाजको लागि आवश्यक भएपनि यो रोजगार सिर्जना गरेको होईन्,’ मन्त्री अर्यालले भने ।

उनले विदेशीले दिएको सहयोग भन्दैमा औचित्यहीन कार्यमा खर्च गर्न नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए ।

‘यसमा तरिका परिवर्तन गरौं । विदेशीले दिएको सहयोग हो भन्दैमा हामीले छर्ने काम नगरौं । जसको औचित्य नै पुष्टि हुदैँन । जसले परिणाम नै निकाल्दैँन, त्यो स्थानमा खर्च नगरौं । किनभने त्यो ऋण भएपनि अनुदान भएपनि हामीले नै लिएको हो । यसको सदुपयोग गर्नुपर्छ,’ मन्त्री अर्यालले थपे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन गरिरहेका छन् । सबै स्थानीय तहमा रोजगार संयोजक राखेर यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । विश्व बैंकको सहयोगमा संचालित यो कार्यक्रमको परियोजना अवधि सकिनै लागेको छ । परियोजनाको कार्यअवधि सकिनै लागेको बेलामा मन्त्री अर्यालको यस्तो भनाइ आएको हो ।

सोही कार्यक्रम अन्तरगत विश्व बैंकको आर्थिक सहयोगमा तलब पाउने गरी सबै स्थानीय तहमा रोजगार संयोजक राख्ने गरिएको छ । यद्यपि, करारमा राखिएका यस्ता रोजगार संयोजक आफैको जागिर भने सधै धरापमा पर्ने गरेको छ ।

फरक प्रसंगमा मन्त्री अर्यालले नेपाल र कतारबीच २००५ मा भएको सहयोग सम्झौतामा हस्ताक्षर समयसापेक्ष नभएकाले दुवै पक्षबाट प्राविधिक समूह बनाउने र त्यसले तल्लो तहदेखि नै अध्ययन गर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update