Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाको अजिरकोटमा ‘हनी हन्टिङ फेस्टिबल’, के हुन्छ त्यहाँ ? 
फाइल तस्वीर

काठमाडौँ । परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्धेश्यले गोरखाको अजिरकोट गाउँपालिकाले हनी हन्टिङ फेस्टिबल गर्ने भएको छ । 

गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाका अनुसार आगामी १९ बैशाखमा पालिकाको वडा नम्बर २ स्थित ओलाङमा यो पर्व मनाउन लागिएको जानकारी दिए । 

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जिविकोपार्जन सुधार परियोजना अन्तरगत परम्परागत पेशालाई आधुनिकीकरण गर्न एकदिने हनी हन्टिङ पर्व आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले जानकारी दिए । 

गाउँपालिकाकी रोजगार संयोजक सञ्जु लामिछानेका अनुसार ओलाङमा परम्परागत रुपमा भीर मौरीको मह निकाल्ने अर्थात हनी हन्टिङ गर्नेहरु छन् । 

यो पेशाकाट जिविकोपार्जन गर्नेहरु भीरमा डोरीमा झुण्डिएर जोखिमपूर्ण ढंगले भीर मौरीको मह निकाल्ने गर्छन् । 

ओलाङका करिव १० जना भन्दा वढीले परम्परागत रुपमा अंगाल्दै आएका हनी हन्टिङ पेशालाई व्यवस्थित र अनुधिकीकरण गर्दै पालिकामा पर्यटक ल्याउने उद्धेश्यले १ दिने पर्व मनाउन लागिएको उनको भनाइ छ । 

पालिकाको सदरमुकाम भच्चेकबाट करिव ६ किलोमिटरको दुरीमा रहेको यो गाउँमा १९ बैशाखमा हनी हन्टिङको प्रत्यक्ष अवलोकन गर्न पाइने छ । 

पालिकाले यो पेशामा संलग्नहरुलाई जोखिम कम हुने विधिका बारेमा जानकारी गराउने, हनी हन्टिङ हुने भीरहरुमा रेलिङलगायतका सेफ्टी राखिदिनेलगायतका योजना बनाएको उनको भनाइ छ । 

प्रतिकेजी १५ सय देखि २ हजार रुपैयाँसम्ममा स्थानीय स्तरमा बिक्री हुने भीर मौरीको मह स्वादिष्ट हुने बताइन्छ । 

परम्परागत रुपमा अंगाल्दै आएको यो पेशामा युवा आकर्षण वढाउन र यसका माध्यमबाट पर्यटन भित्र्याउन १ दिने पर्व महत्वपूर्ण हुने पालिका अध्यक्ष देवकोटा बताउँछन् । 
 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update