Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान 

काठमाडौँ । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ । 

२०७८ साल माघ २६ गते पहिलो किस्तामा ४ करोड २९ लाख १८ हजार रुपैयाँ र दोस्रो किस्ता त्यसै बर्षको चैत १७ गते थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको हो । 

यसबाट महाविहारमा नेपाली शैलीको ‘नेपाल मण्डल, प्रवेश द्वार’ निर्माण भएको छ । यस्तै महाविहारको भुइँतलामा काठमाडौँको कला प्रदर्शन हुने कलात्मक झ्याल, ढोका, पहिलो तलाको चोकबाट पूर्वतर्फ कलात्मक झ्याल, पश्चिमतर्फ विमान झ्याल,  निर्माण गरिएको छ । 

यसपछि दिगि छेँ (धर्मागार) अगाडि पोखरी निर्माण गर्ने, पोखरीको वरिपरि परिक्रमा मार्ग बनाउने, हारती माताको मन्दिर बनाउनेलगायत योजना छन् । महाविहार क्षेत्रको सुधार तथा सौन्दर्य अभिवृद्धि कार्यअन्तर्गत ५० लाख रुपैयाँ लागतमा पोखरी निर्माण हुनेछ । 

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । 

लुम्बिनीमा भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार सञ्चालक समितिले ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको हो । 

महाविहार चोकको दायाँ कवलमा सहस्रभुज लोकेश्वर,बायाँ कवलमा बज्रसत्व बुद्ध मूर्ति, क्वापाद्योको बायाँ कवलमा दिपङ्कर बुद्ध मूर्ति राखिएको छ । 

परम्परागत बौद्ध धर्म संघकाअनुसार गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार निर्माण भएको छैन । यो महाविहार निर्माण सम्पन्न भएपछि ३ शताव्दीपछिको नयाँ महाविहार हुनेछ । 

महाविहारको अनुगमन 

काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले शनिवार महाविहारको अनुगमन गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरसहितको टोलीले निर्माण स्थल र प्रगतिको अनुगमन गरेको हो । टोलीमा सार्वजनिक निर्माण विभाग, कानुन तथा मानव अधिकार विभाग, सम्पदा तथा पर्यटन विभाग, वित्त विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीहरु सहभागी थिए । 

अनुगमनका क्रममा धर्मकीर्ति विहार काठमाडौँले निर्माण गरेको गौतमी भिक्षुणी विहारको निरीक्षण गरिएको थियो । विहारको पोखरीका किनारामा फल्चा निर्माण गर्न महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update