Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीलाई भेटेर किन ४ अर्ब मागे ३ पालिकाका अध्यक्षले ? 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेर उदयपुरका ३ वटा स्थानीय तहका प्रमुखहरुले ४ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेका छन् । 

आज सिंहदरवारमा प्रचण्ड र पुनलाई भेटेर लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, रौतामाइ गाउँपालिकाका अध्यक्ष विरेन्द्र कुमार राई र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले ३ पालिका जोड्ने पर्यटन पक्की सडक निर्माणका लागि बजेट मागेका हुन् । 

लिम्चुङबुङ गाउँपाकिलाका अध्यक्ष राईका अनुसार आज प्धानमन्त्री र अर्थमन्त्रीलाई भेटेर सडक बनाउनका लागि बजेट दिन मागसहित संयुक्त ज्ञापनपत्र वुझाइएको हो । 

उदयपुरका यी ३ वटै पालिका कृषिमा प्रचुर सम्भावना भएका क्षेत्र हुन् । उनीहरुले तराईलाई पवित्र तीर्थस्थल हलेसी धामसमेत जोड्ने छोटो दुरीको ‘मुर्कुची–पुँवारे–डिल्लीबजार–भालेबास–माझखर्क–लिम्चुङबुङ–होलेसुङ–जनकराज राई–हलेसी पर्यटन पक्की सडक’ का लागि ४ अर्ब रुपैयाँ बजेट माग गरेका हुन् । 

उनीहरुले यो सडकका लागि आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब र ४ वर्षभित्रमा बाँकी ३ अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्न माग गरेका छन् । 

तराईदेखि हिमालसम्म जोड्ने सबैभन्दा छोटो दुरीको यो सडक बनेको अवस्थामा ३ वटा पालिकाबासीमात्र नभएर थुप्रै जिल्लाबासीले लाभ लिने भएकाले ज्ञापन पत्र बुझाइएको अध्यक्ष राईको भनाइ छ । 

उनले यो सडकको आइईई र डिपीआर समेत भइसकेको भन्दै बजेट दिन गरेको आग्रहलाई प्रधानमन्त्री र अर्थमन्त्री दुबैले सकारात्मक रुपमा लिएको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update