
इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले ३ हजार ३७५ मत वढी ल्याएर अग्र स्थानमा छन् । फाकफोकथुम, चुलाचुली र माङसेवुङ गाउँपालिकाका १ देखि ४ नम्कर वडाको गणना सकिएको छ भने हाल माइ नगरपालिकाको गणना सुरु भएको छ ।
माइ नगरपालिकाका ३ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् भने अब देउमाइ नगरपालिका र इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी छ । जनजाति बाहुल्य रहेको माङ्सेवुङबाटै एमालेका उम्मेदवारले बढी मत पाइरहेका छन् । माङ्सेवुङ गाउँपाकिलाका वडा नम्बर ५ र ६ को गणना पनि अनितम चरणमा पुगेको छ । जहाँ सुर्य र मुढाबीच टक्कर चलिरहेको छ ।
प्राप्त परिणाम अनुसार एमालेका उम्मेदवारले १० हजार ४१९ मत, कांग्रेसले ७ हजार ६२, स्वतन्त्रको मुढाले ५ हजार ७५३ र रास्वपाको घन्टीले १ हजार ४५१ मत पाएका छन् ।
गणना जारी रहेको माइ नगरपालिकाको वडा नम्बर १ र ३ मा कांग्रेस तथा वडा नम्बर २ मा एमालेका उम्मेदवार (वडाअध्यक्ष) २०७९ सालको स्थानीय तह निर्वाचनमा बिजयी भएका थिए । प्रारम्भिक गणनामा कांग्रेसले जितेको वडामा समेत एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।