
इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङ ११ हजार ७८ मतका साथ अग्रस्थानमा छन् ।
फाकफोकथुम, चुलाचुली र माङसेवुङ गाउँपालिकाका १ देखि ४ नम्बर वडाको गणना सकिएको छ भने हाल माइ नगरपालिकाको गणना सुरु भएको छ ।
माइ नगरपालिकाका ३ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् भने अब देउमाइ नगरपालिका र इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी छ ।
प्राप्त परिणाम अनुसार कांग्रेसले ७ हजार ३२४, स्वतन्त्रको मुढाले ६ हजार ९०१ र रास्वपाको घन्टीले १ हजार ५१२ मत पाएका छन् ।
गणना हुन बाँकी रहेको माइ नगरपालिकामा भने जम्मा ९ वटा वडा पर्छन् । यहाँ २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको छ ।
एमालेका तर्फबाट एमालेका सुर्यप्रसाद पोखरेल र उपप्रमुखमा पबी माया राई निर्वाचित भएका थिए ।
९ मध्ये ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेसले जितेको थियो । वडा नम्बर १ मा एमालेका फिनराज श्रेष्ठ, २ मा एमालैकै नरबहादुर मगर र ३ मा कांग्रेसका पदम बहादुर कटुवालले जितेका थिए ।
वडा नम्बर ४ को वडा अध्यक्षमा एमालेका भीमलाल खनाल, वडा ५ मा एमालेकै तिलकबहादुर हेन्जन र वडा नम्कर ६ मा कांग्रेसका सुरेन्द्र कुमार बस्नेतले वडाअध्यक्षमा बाजी मारेका थिए ।
वडा नम्बर ७ मा कांग्रेसका राम बहादुर राईले चुनाव जित्दा वडा नम्बर ८ मा एमालेका चन्द्रकहादुर मगर र वडा नम्बर ९ मा कांग्रेसका यम कुमार लिम्बूले जितेका थिए । हाल माइ नगरपालिकाको वडा नम्बर १ को मतगणना जारी छ ।