Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाण चौधरी भन्छन्ः वाई वाईको गुणस्तरमा शंका छैन, कारखाना घुम्ने भए स्वागत छ 

काठमाडाैँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वाई वाई ब्राण्डलाई मदनाम गर्न गलत हर्कतहरु भएको बताएका छन् । 

चाउचाउको गुणस्तरमाथि प्रश्न उठेपछि प्रष्टिकरण दिदै प्रबन्ध निर्देशक चौधरीले नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको र विश्वका अन्य देशहरुमा फैलिदै गएको वाई वाईमाथि नियोजित ढंगले गलत प्रचार भएको बताएका हुन् । 

‘हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौँ, त्यसपछि वाई वाई ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाई वाईलाई निशाना बनाइएको छ । हामीले पटक पटक भनेका छौं  कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

वाई वाई विश्वभर लोकप्रिय भइरहेका वेला उनले नेपालमा किन प्रोपोगाण्डा भइरहेको छ भनेर प्रश्न गदैृ शंका लाग्नेलाई चाउचाउको कारखाना घुम्न आउन आह्वान समेत गरेका छन् । 

‘अचम्मकै कुरा भन्नुपर्छ, वाई वाई विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं । नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ,’ उनले लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update