
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत इलाम–२ मा जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले प्रतिस्पर्धी उम्मेदवारले भन्दा ४ हजार ९९६ मतले अग्रता लिएका छन् ।
जारी मत परिणाम अनुसार सुहाङको चुनाव चिन्ह सुर्यले १३ हजार ९०० मत पाउँदा कांग्रेसका डम्बर खड्काले ८ हजार ९०४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ८ हजार २८५ मत र रास्वपाका मिलन लिम्बुले १ हजार ९४५ मत पाएका छन् ।
माङ्सेवुङ गाउँपालिकाको गणना सकिदा स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेस उम्मेदवार खड्कालाई टक्कर दिएका छन् । यो पालिकाको वडा नम्बर ५ मा कुनैपनि उम्मेदवारले ७५ मत नकटाउदा थेवेले १ हजार मत कटाए ।
हालसम्म फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, माइ नगरपालिकाको सबै मतगणना सकिएको छ भने देउमाइ नगरपालिकाको वडा नम्बर १को मतगणना सकिएको छ । अब देउवमाइका बाँकी वडा र इलाम नगरपालिकाको मत गन्न बाँकी छ ।
मत परिणामले स्वतन्त्र उम्मेदवार थेवेभन्दा पनि पछि परिने पीरमा रहेको कांग्रेसलाई भने इलाम नगरपालिकाबाट पाउने मतको आश छ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकाका १२ मध्ये १० वटा वडा अध्यक्ष कांग्रेसले जितेको थियो ।
वडा नम्बर १० बाहेक सवै वडा इलाम–२ मा पर्छन् । स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका केदार थापा र उपप्रमुखमा कांग्रेसकै विष्णु कुमारी लिम्बु निर्वाचित भएका थिए ।
वडा नम्बर २ र ३ मा मात्र एमालेका वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा नम्बर २ मा गिरीराज रिजाल र ३ का वडाअध्यक्ष हेमबहादुर सुनुवार एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन् । सोचेजस्ताे मत नआएको बताइरहेको रास्वपाले पनि इलाम र माइ नगरपालिकाबाट मत आउने बताइरहेको छ । तर माइबाट पनि उसले अपेक्षित नतिजा ल्याउन सकेको छैन ।
कांग्रेसले भने इलामको बिरासतका कारण परिणाममा फेरबदल आउने बताएपनि जित्नका लागि भने चमत्कार नै हुनुपर्ने आंकलन गरिरहेको छ । एमालेका नेता कार्यकर्ता भने इलाम नगरपालिकाको गणना सुरु नहुँदै जीतको खुसीयाली मनाउन थालेका छन् ।