Odapalika - The Fourth Estate - चौथो अंग
बेंसीशहरस्थित मैयुम गाउँमा घरघरमै पुग्यो खानेपानी 

काठमाडाैँ । बेंसीशहर नगरपालिका–७ मैयुम गाउँमा निर्माण गरिएको एक घर–एक धाराको उद्घाटन गरिएको छ ।

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजना अन्तरगत मैयुम गाउँका घरघरै खानेपानीको धारा निर्माण गरिएको हो ।

गाउँमा निर्मित ४४ घरका निजी र सामुदायिक भवनमा एउटा गरी ४५ वटा धाराको प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा देखेको सपना विस्तारै पूरा हुँदै गएको बताए ।

आफू मुख्यमन्त्री भएपछि प्रदेशभरीका सवै गाउँका घरघरै ५ वर्षभित्र आधारभूत खानेपानी पु¥याउने योजना बनाएकोमा ३ वर्षमात्रै नेतृत्व गर्न पाएपछि योजना अलपत्र परेको उनको भनाइ छ । 

खानेपानीजस्तो नागरिकको दैनिक जीवनसंग जोडिएको आधारभूत विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै उनले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

मैयुम खानेपानी योजनाका अध्यक्ष काजीराम परियारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख बुनादेवी रिमाल, बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, वडाअध्यक्ष ऋषिराम बस्नेत, आरसीडीसी अध्यक्ष राजेन्द्र बोहरालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खानेपानी योजना उपभोक्ता समितिले सहयोगी संस्थाहरु सीआरएस, आरसीडीसी र वडा नं. ७ लाई प्रशंसापत्र प्रदान गरेका थिए ।

खानेपानी आयोजनाको लागि आरसीडीसी–सीआरएसले २० लाख ४७ हजार ८०१ रुपैयाँ ६० पैसा र श्रमदानसहित स्थानीयको ५ लाख ५० हजार ६१२ रुपैयाँ गरी कूल २५ लाख ९८ हजार ४१३ रुपैयाँ ६० पैसामा मैयुम गाउँ खानेपानी योजना सम्पन्न भएको आरसीडीसीका सचिव सोमबहादुर विकले जानकारी दिए ।

घरघरै निर्माण गरिएको खानेपानीको धाराबाट पानी उपभोग गर्न पाएपछि स्थानीयवासिन्दा खुसी भएका छन् । आमा समूहकी पूर्वअध्यक्ष सन्ति परियारले गाउँमा खानेपानीको विकास भएको र घरघरै खानेपानी आउँदा निकै खुसी भएको बताइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update