Odapalika - The Fourth Estate - चौथो अंग
आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ । 

विश्व मजदुर दिवसको अवसर पारेर तालिम कार्यक्रम थालनी गर्दैछ । ‘सीप मेला २०८१’ नाम दिइएको यो तालिमले सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीचको खाडल पुर्ने महानगर उपप्रमुख सुनिता डंगोलको भनाइ छ । 

उनले रोजगारदातालाई सीपयुक्त जनशक्ति उपलब्ध हुने, युवाहरुलाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरणका लागि तालिमको आयोजना गरिएको बताइन् । 

‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो,’ उपप्रमुख डंगोलले भनिन् । 

तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम दिने महानगरको योजना छ । 

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । 

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने महानगरको लक्ष्य छ ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल ९हिसान०, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । 

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ । 

सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर इभी, इलेक्ट्रिकल कार रिपेयर विषय छन् । 

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । 

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस प्रशिक्षण हुनेछ । 

सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् । 

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्, ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ ।

आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । 

दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा हुनेछन् । 

सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउने छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update