Odapalika - The Fourth Estate - चौथो अंग
ह्वासिन सिमेन्टले फेरेको बेनिघाट रोराङ गाउँपालिकाः निःशुल्क बिजुलीदेखि ३ सयलाई रोजगारी

काठमाडौँ । हुवासिन सिमेन्टले २०७८ को पुसदेखि प्रशिक्षण उत्पादन सुरु गरेको थियो । नेपाली र चिनीयाँ व्यवसायीको संयुक्त लगानी रहेको हुवासिन सिमेन्टको उद्योग धादिङको बेनिघार रोराङ गाउँपाालिकाको वडा नम्बर २ ताल्दीमा छ । 

उत्पादनको २ वर्ष पुरा गरेको कम्पनीले हाल बेनिघाट रोराङ गाउँपालिकालाई वार्षिक १ करोड रुपैयाँभन्दा बढी राजश्व तिर्दै आएको छ । 

अहिले वार्षिक १ करोड रुपैयाँ राजस्व गाउँपालिकाले पाउँदै आएको भएपनि अबका दिनमा यस्तो राजस्व अझ बढ्ने कम्पनीले जानकारी दिएको छ ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेल कम्पनीले खानी सञ्चालन गरेर चुनढुंगा उत्पादन सुरु गरेपछि राजश्व अझै बढ्ने बताउँछन् । 

‘हामीले अहिले हाम्रो खाननीबाट चुनढुंगा उत्पादन गरेका छैनौँ, दमौली नुवाकोट लगायतमा रहेका अन्य सिमेन्ट कम्पनीका खानीबाट चुनढुङ्गा ल्याएका छौँ । यही गाउँपालिकामा रहेको खानीबाट चुनढुंगा उत्खनन गरेर सिमेन्ट उत्पादन सुरु गरेपछि हामीले तिर्ने राजस्व स्वतः बढ्छ,’ उपमहाप्रबन्धक पोखरेलले वडापालिकासँग भने ।

३ सयबढी स्थानीयलाई रोजगारी

हुवासिन सिमेन्ट उद्योग सञ्चालनमा आएपछि बेनिघाट रोराङ गाउँपालिकाका अधिकांश स्थानीयले उद्योगमै  रोजगारी पाएका छन् । केहीले प्रत्यक्ष रुपमा र केहीले अप्रत्यक्ष रुपमा रोजगारी पाएको उपमहाप्रबन्धक पोखरेल बताउँछन् । 

उनका अनुसार उद्योगले हाल प्रत्यक्ष रुपमा ३ सय स्थानीयलाई रोजगारी दिएको छ भने सिजन अनुसार अन्य धेरै स्थानीय अप्रत्यक्ष रुपमा उद्योगमा जोडिएका छन् । 

उद्योगका उपमहाप्रबन्धक पोखरेलले मलेसियाको भिसा लागेर विदेश जाने तयारीमा रहेका एक युवालाई केही दिन अघिमात्रै रोजगारी दिन पाउँदा गर्वको महसुस भएको बताउँछन् । 

‘अहिले धेरै युवा विदेश पलायन भएको देख्दा साह्रै नरमाइलो लाग्छ । जोश जाँगर भएका र देशमै केही गर्नुपर्छ भन्ने युवा यहाँ राम्रो रोजगारीको अवसर नपाएर विदेश जानुपर्ने बाध्यतामा थोरै भएपनि स्थानीयलाई रोजगारी दिएका छौँ । हालसालै कतारको भिसा लागेका यहाँका एक युवालाई हामीले उद्योगमा राख्यौं उहाँको परिवारले विदेश नजान आग्रह गर्नुभएको रहेछ । तर, आर्थिक अवस्थाका कारण उहाँ जान लाग्नुभएको हामीले थाहा पायौँ । थाहा पाउनसाथ हामीले उहाँसँग कुरा गर्यौं र उद्योगमा जोड्यौँ,’ पोखरेलले सुनाए ।

बिजुलीदेखि सडक पूर्वाधारमा उद्योगकै लगानी

बेनिघाट रोराङ गाउँपालिकामा उद्योग राख्ने तयारी गर्दा सो ठाउँमा न नेपाल विद्युत प्राधिकरणको बिजुली पुगेको थियो, नत कुनै सडक सञ्जाल नै जोडिएको थियो । 

पालिकाको दुर्गम भेगमा पर्ने २ नम्बर वडासम्म पुग्ने पहुँचमार्ग र २० मेगावाट   क्षमताको विद्युत उद्योगले आफ्नै आफ्नै लगानीमा पुर्याएको थियो । कम्पनीले मलेखुदेखि सिद्धलेक गाउँपालिकाको परेवा टावरदेखि एक करोड २५ लाख रुपैयाँ लगानी गरेर पालिकामा सबस्टेसन निर्माण गरेर विद्युत लगिएको पोखरेल बताउँछन् । 

हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको थियो । यस्तै कारखाना परिसरभित्र १३२.१० केभीको सबस्टेसन पनि निर्माण समेत गरेको छ । 

कम्पनीको प्राविधिक सहयोगमा मलेखुदेखि पालिकासम्मको १३ किलोमिटर सडक निर्माण (कम्पनीले सडक खन्नका लागि ड्राइभरसहित जेसिभी उपलब्ध गराएको) गरिएको हो । 

निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैंमा महत्वपूर्ण रहेको पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको थियो ।

५० घरधुरीमा निःशुल्क बिजुलीदेखि विद्यालयमा सहयोग

कम्पनीले आफ्नै लगानीमा सबस्टेसन निर्माण गरेर गाउँपालिकामा बिजुली पुर्याएसँगै त्यहाँका स्थानीयलाई निःशुल्क उपभोग समेत गर्न दिएको छ । हाल वडा नम्बर २ मा रहेका ५० घरधुरीलाई निःशुल्क विद्युत उपलब्ध गराएको छ । 

कम्पनीले गाउँपालिकाभित्र रहेका ३ वटा विद्यालयलाई संयुक्त रुपमा वार्षिक ५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । पालिकाभित्र रहेका उक्त विद्यालयले आन्तरिक स्रोत अभावका कारण शिक्षक व्यवस्थापनमा समस्या भएको बताएपछि उक्त सहयोग गर्ने गरिएको कम्पनीले जनाएको छ । 

उद्योग आएपछि गाउँपालिका र स्थानीयको मुहार फेरियोः अध्यक्ष थपलिया

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक) हुवासिन सिमेन्ट आएपछि धेरै परिवर्तन भएको बताउँछन् । 

‘पहिलाको बेनिघाट रोराङ गाउँपालिका र अहिले हुवासिन सिमेन्ट आएपछिको गाउँपालिकामा आकाश जमिनको फरक छ । सिमेन्ट कम्पनीले आफ्नै लगानीमा विद्युतदेखि सडक विस्तारको काम गर्यो । केन्द्र र स्थानीय सरकारले गर्नुपर्ने काम एउटा निजी कम्पनीले गरेको हो । बिजुली र मोटरबाटोसँगै यहाँका ३ सयभन्दा बढीले रोजगारी पाएका छन् । पालिकालाई कर आएको छ भने देशको अर्थतन्त्रमा नै धेरै सहयोग पुगेको छ,’ गाउँपालिका अध्यक्ष थपलियाले वडापालिकासँग भने ।

उनले गाउँपालिकाको मात्र नभएर हुवासिन सिमेन्टले स्थानीयको मुहार नै फेरिदिएको बताए । 

‘हाम्रो पालिकाका ३ सयभन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउँदा स्थानीयको जिवनस्तरमा धेरै सुधार भयो’, उनले भने । 

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे हुवासिन सिमेन्ट बेनिघाट रोराङ गाउँपालिकामा आएपछि यहाँका स्थानीयलाई धेरै राहत भएको पाइएको बताउँछिन् । 

‘म भर्खर प्रमुख प्रशासकीय अधिकृत भएर यहाँ आएको हूँ । मलाई खासै धेरै कुरा त थाहा छैन् । तर, कम्पनी यहाँ आएपछि यहाँका स्थानीयले धेरै राहत पाएको मैले अनुभव गरेको छु । स्थानीयले उत्पादन गरेको स्थानीय उपजको बजारीकरण, सहज रुपमा यातायातको व्यवस्थादेखि घर छेउँमै रोजगारीको अवसर पाउनुभएको छ,’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले वडापालिकासँग भनिन् ।

कम्पनीले नेपाल प्रहरीको अस्थाई भवन निर्माणका लागि जग्गा खरिदमा १० लाख रुपैयाँ समेत सहयोग गरेको थियो भने कोरोना महामारीको समयमा बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । 

उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ ।

कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ ।

हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update